Ultimate magazine theme for WordPress.

टोकियो र आसपासका क्षेत्रमा आपतकाल लम्ब्याईने

105

टोकियो । टोकियो र आसपासका क्षेत्रमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको आपतकाल २ हप्ता लम्ब्याउने जापानका प्रधानमन्त्री योशिहिदे सुगाले बताएका छन् । यसबारे अन्तिम निर्णय भने कार्यदलको बैठकपछि विज्ञहरुको समितिबाट आएको धारणाहरुको आधारमा शुक्रबार गर्ने उनको योजना छ ।

संक्रमणको अवस्थाबारे कोरोना भाइरस नियन्त्रणको जिम्मा पाएका मन्त्री निशिमुरा यासुतोशी र स्वास्थ्यमन्त्री तामुरा नोरिहिसासँगको छलफलपछि बुधबार पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा सुगाले यस्तो बताएका हुन् ।टोकियो र छिमेकमा रहेका खानागावा, चिबा र साइतामा प्रिफेक्चरमा आपतकाल आइतबार सकिदैंछ ।

आपतकाल हटाउन यी प्रिफेक्चरहरुमा अस्पतालमा बेड अकुपेन्सी दर ५० प्रतिशतभन्दा तल हुन पर्ने र घटिरहनु पर्ने सुगाको भनाइ छ । नयाँ संक्रमितको संख्या आपतकाल हटाउन पर्याप्त हुने गरी नघटेको उनले बताए ।सम्बन्धित प्रिफेक्चरका गभर्नरहरुसँग परामर्श गरेर अवस्थाको विस्तृत मूल्यांकनपछि मात्रै सरकारले यससम्बन्धी अन्तिम निर्णय गर्नेछ । आपतकाल लम्ब्याउँदा रेस्टुरेन्ट र बारहरुलाई पर्ने सम्भावित प्रभावलाई दृष्टिगत गरिने बताइएको छ ।

तर सरकार र सत्तारुढ दलका केही अधिकारीहरुले भने सम्बन्धित प्रिफेक्चरका गभर्नरहरुबाट आपतकाल लम्ब्याउने अनुरोध प्राप्त गर्नु अघि नै आफूले निर्णय गरिसकेको भन्ने सरकारले देखाउनु खोजेको बताएका छन् ।