
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ ।यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रहरी महानिरीक्षक (आईजीपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।
‘अर्थ मन्त्रालयले यस पटक पनि हामीले प्रस्ताव गरेको संख्यामा आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ तर पर्याप्त जनशक्ति नहुँदा निर्वाचन सुरक्षामा समस्या आउन सक्छ भन्ने कुरा बुझ्नु पर्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने ।
मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन्। मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी संयुक्त रूपमा परिचालन गर्ने गरिएको छ।
यसै गरी प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय ह’तियार माग गरेको छ। निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे सरकारलाई जानकारी गराएको हो ।
यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो ।
नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान ह’तियार माग गरेकामा एक हजार थान मात्र उपलब्ध गराएको थियो। यस पटक पनि सेनासँग मागेर निर्वाचन सुरक्षा गर्ने तयारी नेपाल प्रहरीको छ ।