आइतबार १६ आश्विन २०७९

गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण भएको हो ।

पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् ।

उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर राख्दै आफनो सानैदेखिको सपना पुरा भएको भन्दै खुसी साटेकी छन् । सानैदेखि बुबाआमालाई एउटा घर बनाएर राख्ने सपना पुरा गर्दै उनले नयाँ बनेको घरमा बुबाआमालाई राखेकी छन् ।

फेसबुकमा लेखेकी छन् – ’सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।

चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु। सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु ।’

झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् ।

तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् । भजन गाएको मन पराएर कतिले उनलाई पैसा समेत दिन्थे ।कक्षा ४ देखि प्राइभेट विद्यालय पढेकी रचना सोही वर्ष विद्यालयको प्रतियोगितामा गीत गाएर प्रथम भइन् ।

त्यसपछि शिक्षकहरुले सिकाएर बाहिरको प्रतियोगिताहरुमा समेत लैजान थाले । कक्षा ५ मा पढ्दा रचना विद्यालयस्तरीय प्रतियोगितामा गाएकी थिइन् । सो प्रतियोगितामा उनले तारादेवीको गीत ‘उकाली ओरालीहरुमा’ गाएकी थिइन्, प्रथम भइन् ।

‘पुरस्कारस्वरुप डायरी र पाँच सय रुपैयाँ पुरस्कार पाएकी थिएँ,’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘त्यहाँबाट बल्ल गाउन सक्छु जस्तो भयो । गायनमा एकदमै प्रोत्साहित भएँ ।’

बाल्यकालमा उनको लगाव भजनमा थियो । जब गीत गाएर पुरस्कार पाउन थालिन्, बुबाले ल्याएको स्क्रिनटच मोबाइल लिएर वाइफाइ भएको छिमेकीका घरमा पुग्थिन् । अनि आफूलाई मन परेका गीतहरु डाउनलोड गर्थिन् ।

तिनै गीत सुनेर सिक्न थालिन् । त्यसो समय तारादेवी, अरुणा लामा, भक्तराज आचार्य लगायतका गीतहरु बढी सुन्ने गरेको रचना बताउँछिन् ।विद्यालयमा नृत्य सिकाउने एक जना शिक्षिका थिइन्, जसले गीत एकदमै रुचाउँथिन् ।

उनले रचनालाई गीत गुनगुनाउन लगाइरहन्थिन् । गुनगुनाउन लगाउने मात्र होइन, गाउँदै गरेको भिडियो मोबाइलले खिचेर आफ्नै अकाउण्टबाट एउटा ग्रुपमा समेत पोष्ट गरिदिन्थिन् ।

सो गु्रपमा जसले पनि गीत गाएर पोष्ट गर्न मिल्थ्यो । त्यतिबेला रचना कक्षा ९ मा पढ्दैथिइन् । गु्रपमा पोष्ट गरिएका भिडियोमा एकदमै राम्रो प्रतिक्रिया आउँथ्यो । शिक्षिकाले ती प्रतिक्रियाहरु देखाउँदा फुरुङ्ग हुन्थिन् रचना ।

सोही गु्रपमा प्रतियोगिता समेत राखिएको थियो, जसको धेरै लाइक कमेन्ट आउँछ ऊ विजेता हुने । तिनै शिक्षिकाले रचनाको भिडियो पोष्ट गरिदिइन् । रचना विजेता बनिन् अनि हार्मोनियम जितिन् ।

त्यसपछि आफूमा संगीतको नसा एकदमै बढेर गएको रचना सुनाउँछिन् । उनी सोही हार्मोनियममा ‘सारेगमप…’ आलाप्न थालिन् । आमा-बुबाबाट भने गायनमा सधैं साथ र सपोर्ट रहेको उनले सुनाइन् ।

घरछेउमै रहेको चटपटे पसलमा साँझ-बिहान र बिदाको समयमा रचनाले पालो दिन्थिन् । पसलमा गीत गुनगुनाउँदै बस्थिन्, चटपटे खान आएका ग्राहकलाई बनाएर दिन्थिन् । चटपटे बनाउने क्रममा केही युट्युबर त्यहाँ पुगेर रचनाको अन्तवार्ता लिए ।

र, युट्युबमा ‘चटपटेवाली गायिका’का रुपमा प्रस्तुत गरे । जुन भिडियो स्रोता-दर्शकले निकै रुचाए । सोही भिडियोबाट रचनालाई ‘चटपटेवाली गायिका’ भनेर चिन्नेहरु प्रशस्त भइसकेका थिए ।


Last Updated on: August 21st, 2022 at 7:15 pm

तपाईको प्रतिक्रिया