Ultimate magazine theme for WordPress.

माधव नेपाल पक्षको मुद्दाको सुनुवाई सर्यो

71

काठमाडौ- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले कारबाही रोक्न दायर गरेको रिटमा सुनुवाई सरेकाे छ। न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशमा रहेको पेशी हेर्न नभ्याउने भएपछि सुनुवाई एक दिन पछाडि सरेको हो।

बुधबार एमाले नेता नेपालसहितका चार नेताहरुले कारबाही रोक्न अन्तरिम आदेश माग गर्दै सामूहिक रिट निवेदन पेश गरेका थिए। उक्त मुद्दा अन्तरिम आदेशकाे ३०औं नम्बरको पेशीमा रहेको छ। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको मुद्दामा एमाले र माओवादी ब्युताएको थियो। नेकपाभित्र जारी रहेको विवाद एमालेमा पनि सरेको थियो।

फैसलापछि ब्युँतिएको एमालेभित्रको कारबाही श्रृंखला रोक्न माग गर्दै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले बिहीबार उक्त निवेदनलाई वैधानिक रूपमा दर्ता गरेको थियो। उनीहरूले दर्ता गरेको निवेदनमा आफूहरूमाथि गरिएको कारबाही अवैधानिक भएकाले अदालतले अन्तरिम आदेशमार्फत् रोक्नुपर्ने जिकीर गरिएको थियो।

नेपाल पक्षले दायर गरेको रिटमा नेपालसहित २७ जनामाथि गरिएको ‘कथित कारबाही’ बमोजिम राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोग र संसद सचिवालयमा सूचना दिन लागिएकोले काम कारबाही रोक्न आवश्यक भएको दाबी गरिएको छ।