Ultimate magazine theme for WordPress.

जुद्धशमशेरसँग ५० लाख ‘घुस’ लिएर विवाह गरेका थिए महेन्द्रले !

194

राजा त्रिभुवन आफ्नो परिवारमा राणाहरुका छोरीबेटीलाई बुहारीका रुपमा प्रवेश गराउने पक्षमा थिएनन् । यसका विभिन्नमध्ये प्रमुख कारण जसरी आफू राणाहरुको खठनमा बस्नुपरेको छ, त्यो स्थिति नेपालका भावी राजालाई नपरोस् भन्ने चाहन्थे ।

त्यसैले राणा शासनबाट आफू र जनतालाई मुक्त पार्नुपर्ने भएको हुँदा राणाहरुसँगको वैवाहिक सम्बन्ध त्रिभुवनलाई प्रिय भएन । वैवाहिक रक्तसम्बन्धले गर्दा जस्तै भए पनि मुलाहिजाको गन्ध रहिरहन्छ ।त्यसकारण राजा त्रिभुवन अब उप्रान्त राणाहरुसँग रक्तसम्बन्ध राख्न चाहँदैनथे ।

राणाशासनकै हैकम र बोलवाला रहेको त्यस बेलाको वातावरण र परिस्थितिले त्रिभुवनको अभीष्टलाई साथ दिँदैनथ्यो, तैपनि उनी आफ्नो बुद्धि र प्रयत्नले भ्याएसम्म आफ्नो अभीष्टप्रति सुदृढ रहने तपस्यामा लागि नै रहे ।यो कुरा तात्कालिक प्रधानमन्त्री जुद्धशमशेरले बुझेका थिए ।

तैपनि जसरी भीमशमशेरले त्रिभुवनलाई दबाब दिएर आफ्नी नाबालक छोरीको बिहे युवराजाधिराज महेन्द्रसँग गराउनमा स्वीकृति दिन बाध्य गराएका थिए, केही नलागे त्यसरी नै आफ्नी नातिनी (हरिशमशेरकी छोरी) इन्द्रराज्यलक्ष्मीको बिहे युवराजसँग गराउने स्वीकृति (लालमोहर) लिने इरादामा जुद्धशमशेर लागिपरेका थिए ।

प्रथमतः सरसल्लाहद्वारा त्रिभुवनलाई मनाउने कोसिस गर्न लागे । तर जुद्धशमशेरको प्रत्येक प्रयासलाई त्रिभुवनले ‘छोराले गर्न मान्दैन’ भनेर टार्दै थिए । त्यसै समय विसं १९९६ को भदौ असोजतिर अर्थात् ७ सेप्टेम्बर १९३९ का ‘जनता’ पत्रिकामा राजा त्रिभुवन र जुद्धशमशेरको बीचमा महेन्द्र र इन्द्रराज्यलक्ष्मीको विवाहबारे भएका कुराकानीका विवरणहरु छापिए ।

त्यसमा राणाहरुलाई होच्याएर तथा विवाहको विरोध गरेर धेरै कुरा लेखिएका थिए ।अतः जुद्धशमशेर रिसले आगो भएर सरासर नारायणहिटी राजदरबारमा आएर भित्तामा हत्केलाले धाप दिँदै ‘यो भित्ताले भन्यो होला’ भन्दै त्रिभुवनप्रति गर्जिए । त्यसपछि जुद्धशमशेरले त्रिभुवनलाई राम्ररी नै बुझे र त्रिभुवनलाई मनाउनपट्टि नलागेर कूटनीतिक चाल चाल्नतिर लागे ।

जुद्धशमशेरका छोरा बहादुरशमशेरका अति विश्वासिला थिए सुब्बा विश्वराज मिश्र । उता युवराज महेन्द्रका मिल्ने साथी थिए भूपालमानसिंह प्रधान । धेरै मानिसको भनाइ अनुसार उनी महेन्द्रलाई बेला बजाउन सिकाउँथे । विश्वराज र भूपालमान आपसमा खुबै मिल्ने साथी थिए ।

त्यसबेला राणा शासनको मनोमानी र अन्यायले महाराजधिराजबाहेक राजपरिवारका अरु सदस्यहरुलाई महत्त्व दिइँदैनथ्यो । जुद्धशमशेरले विश्वराजमार्फत् भूपालमानलाई हात लिए । त्यसपछि दुवैलाई लगाएर महेन्द्रलाई मनाउने चलाखी गरे । महेन्द्रलाई मनाउने प्रमुख आधार स्थितिलाई नै बनाइयो ।

अतः ती दुईमार्फत् महेन्द्रलाई ५० लाख रुपैयाँ दिने कुरा सुनाउन लगाइयो । तत्पश्चात् उक्त रुपैयाँ दिएर महेन्द्रबाट गुप्त रुपले बिहे गर्ने स्वीकृति जुद्धशमशेरले प्राप्त गरे ।त्यसपछि राजपरिवारका सदस्यहरु भेला भइरहेको मौका छोपेर जुद्धशमशेरले त्रिभुवनसँग फेरि बिहेको चर्चा उठाए ।

जुद्धशमशेरको कूटनीतिक ज्ञानबारे अनभिज्ञ त्रिभुवनले पूर्ववत् ‘छोरो (महेन्द्र) मान्दैन’ भन्ने जवाफ दिए ।त्यही मौका छोपेर जुद्धले त्यहीँ नै उपस्थित महेन्द्रलाई बिहेका लागि अनुरोध गरे । परिणाम महेन्द्रले त्यहीँ नै सबैका अगाडि स्वीकृति दिए ।त्रिभुवनले जुद्धको यो कुटिल चाल अन्त्यमा बुझे ।

तर बोल्न सक्ने र नहुने भएपछि केही गर्न सकेनन् ।आफ्नै रोहवरमा महेन्द्रबाट स्वीकृति भएपछि अब अरु बहाना बनाउने ठाउँ पनि त्रिभुवनका लागि रहेन । फलस्वरुप सन् १९४० मे ८ (विसं १९९७ वैशाख २७) मा महेन्द्रको इन्द्रराज्यलक्ष्मीका साथ विवाह सम्पन्न भयो ।

महेन्द्र र इन्द्रराज्यलक्ष्मीको विवाहको खुसीयालीमा युवराज र युवराज्ञीलाई लिएर आफू बेलायत भ्रमणमा जाने योजना त्रिभुवनले जुद्धलाई सुनाए । तर विवाह सम्पन्न भएपछि बेलायतको यात्रा भने भएन ।बेलायत पुगेर त्यहाँका राजनीतिज्ञहरुसँग बेलायतको जस्तो व्यवस्था नेपालमा गराउने कुरा गर्ने त्रिभुवनको योजना थियो तर उनको त्यो इच्छा पूरा भएन ।

प्रेमबहादुर श्रेष्टको भनाइमा विवाह सम्बन्ध नगर्ने अभीष्ट राखेर गरिएको चालबाजीमा हार खाएपछि सन् विवाहको स्वीकृति दिँदा छोराबुहारीको साथ आफूलाई बेलायत भ्रमण गर्ने व्यवस्था मिलाइदिन जुद्धशमशेरलाई त्रिभुवनले भनेको हुनुपर्छ । किनभने एक त त्रिभुवनको जेहेन कुनै राणा प्रधानमन्त्रीको भन्दा कम थिए ।

हातबाट फुस्केको चराबाट पनि कुनै न कुनै फाइदा लिन सक्ने प्रतिभा त्रिभुवनमा थियो भने राजनीति र कूटनीतिमा राजदरबारमै भए पनि अध्ययन र मननद्वारा धेरै पोख्त भइसकेका थिए । अतः त्रिभुवनले जुद्धको खुसीको मौका छोपेर उक्त बेलायत भ्रमणको प्रस्ताव राखेका थिए ।

विसं १९९९ सालको माघ महिनामा त्रिभुवन महेन्द्रलाई साथ लिएर भारतको निजी भ्रमणमा जाँदाको प्रसंग दमनराज तुलाधरले यसरी दिएका छन् । ‘सन् १९४२ मा सम्पूर्ण शाही परिवारलाई कलकत्ता र बम्बईको भ्रमणमा पठाइयो । महाराज जुद्धशमशेरको शाही परिवारका लागि युरोपको भव्य रुपको भ्रमण प्रबन्ध मिलाउने योजना थियो तर मोहनशमशेर र अन्य प्रतिक्रियावादी तत्त्वहरुको विरोधले गर्दा त्यो योजना रद्द भयो ।’

अतः त्रिभुवनले बेलायत भ्रमणको उक्त प्रस्ताव वैवाहिक सम्बन्ध जोड्ने क्रममा नै राखेको र जुद्धशमशेरले उक्त प्रस्ताव स्वीकारेको हुँदा वास्तविक नै देखिन्छ । दमनराज तुलाधरले युरोप भनी उल्लेख गरे पनि त्यो त्यस बेलाको राणा र नेपालको सन्दर्भमा बेलायत नै हुनुपर्ने कुरा यथार्थ नजिक देखिन्छ । राजा त्रिभुवन बेलायतको लोकतन्त्र (संसदीय व्यवस्था) हेर्न साँच्चै लालायित थिए ।डा गेहेन्द्रमान उदास ‘पोखरेली’