Ultimate magazine theme for WordPress.

लकडाउनले ‘कञ्चनजङ्घाको सौन्दर्य हेरिदिने कोही भएन’

94

अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने ।यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाज ।

साँच्चिकै सुन्दर छ कञ्चनजङ्घा क्षेत्र । यही सौन्दर्यको आनन्द लिन आउँछन् वर्षेनी हजारौँ विदेशी र स्वदेशी पर्यटक ।कञ्चनजङ्घाको यो सौन्दर्य हेर्न विगतका वर्षहरुमा जस्तै यस वर्ष पर्यटक आउन पाएका छैनन् । यहाँका पदर्मागहरुमा लामबद्ध भएर हिँड्ने गरेका उनीहरुलाई पनि विश्वमा बढ्दो कोरोना महाव्याधिले अबरुद्ध गरेको छ ।

यहाँका स्थानीय भन्छन्– संसारका मानिस आउने यहाँ विदेशीको अनुहार देख्न नपाएको वर्षदिन भन्दा धेरै भयो । हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी हिँड्ने गरेका यहाँका पदमार्गहरु अहिले खाली छन् । जसका कारण उनीहरुको सेवाका लागि खोलिएका सानातिना व्यवसाय गर्ने व्यवसायी पनि बेरोजगार भएका छन् ।

कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरीपूर्ण छ । पदमार्गको दायाँ—बायाँ रङ्गीविरङ्गी फूलहरु फुलेका छन् । यस क्षेत्रभित्र रहेका थरीथरीका चराचुरुङ्गीका आवाज र उनीहरुका गतिले वातावरण नै सङ्गीतमय बनाइदिन्छन् । यो सबै वातावरणले यहाँ पुगने जोकोहीलाई पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ ।

पदमार्गका दायाँ बायाँ बग्ने झरनाहरुको आकर्षण त झन् छँदैछ ।यो सबै सौन्दर्य हेरिदिने कोही छैनन् यतिखेर यहाँ । गत वर्ष चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण गाउँ—गाउँमा फैलिन थालेपछि नेपालभर बन्दाबन्दी (लकडाउन) भयो । बन्दाबन्दीको त्यही समयपछि यहाँ विदेशी र स्वदेशी पर्यटक आउन सकेका छैनन् ।

अस्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमालमा घुमघाम गर्न आएका बेला नेपालमा बन्दाबन्दी शुरु भएको थियो । त्यसपछि उनले कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताएका थिए । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भनेका थिए “म नेपाल आएको छ पटक भयो ।

नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्ला पनि पुगेको छैन ।”विसं २०७६ साल चैतदेखि शुरु भएको लकडाउन भदौदेखि केही खुकुलो बनाइएको थियो ।

त्यसपछि विस्तारै कोभिड—१९ को सङ्क्रमण घट्दै गएको भए पनि पर्यटक स्वदेश र विदेशसम्म हिँड्ने अवस्था भने उत्पन्न हुन सकेन । पर्यटन आगमन हुने समयमा अहिले फेरि को-भि-ड—१९ को दोस्रो लहरले देशभर समस्या उत्पन्न गरेको छ ।कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल आएका थिए ।

सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चजंघा हिमालमा आएका थिए । आन्तरिक पर्यटक १६ नेपाली पुरुष नौ नेपाली महिला कञ्चनजङ्घा हिमाल अवलोकन गर्न पुगेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदको कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिए ।

यहाँ २०५६ सालमा ७९९ जना मात्र विदेशी पर्यटक आएकोमा २०५७ सालमा ८७३ र २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ जान विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदको तथ्याङ्कले जनाएको छ ।