Ultimate magazine theme for WordPress.

ओली सरकारमा भित्रिएका मन्त्रीहरूले राष्ट्रपतिबाट लिए पद तथा गोपनीयताको शपथ

302

केपी शर्मा ओली नेतृत्वको सरकारमा भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा सहभागी तीन उपप्रधानसहित १० मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डरीबाट शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओली सातवटा मन्त्रालय भने आफूमातहत राखेरका छन् । पुनर्गठित मन्त्रिपरिषद्‍मा जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना समावेश छन् ।

जसपालाई ओलीले ८ मन्त्री र २ राज्यमन्त्री दिएका छन् ।त्यस्तै, आज विस्तार गरेको मन्त्रिपरिषद्‍मा ओलीले रघुवीर महासेठ र शेरबहादुर पुन: भित्र्याएका छन् । त्यस्तै उनले अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, महासेठ र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक मन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्‍माकुमारी अर्याल, सञ्चार मन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे बिदा भएका हुन् ।

यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि बिदा भएका छन् । स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट बिदा भएका छन् ।