बुधबार १९ आश्विन २०७९

चितवन : योजनाबद्ध काम भएको भए नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला तयार भइसकेको हुन्थ्यो। डिजाइनअनुसारको ३० हजार दर्शक अट्ने कमलको फूलको आकारमा आकर्षित रंगशालामा प्रतियोगिता भइरहेको हुन्थ्यो।

तर, अहिले रंगशाला निमार्णस्थल झाडीले ढाकेको छ। प्यारापिटका लागि तयार भएका पिलरका फलामे छडमा खिया लागेको छ। खेल्न बनाइएको मैदानमा झार उम्रिएको छ। पिलरका रडहरू भुइँमा लतारिएका छन्।

शिलान्यास भएको दुई वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने सम्झौता थियो। तर, तीन वर्ष हुन लाग्दा पनि रंगशाला त बनेन नै, बनेका पूर्वाधार उल्टै अलपत्र छन्।

गत वर्ष साउन २२ गते प्यारापिटको ढलान गरेपछि केही काम भएको छैन। पश्चिम चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दाबन्दै अलपत्र बनेको छ।

भरतपुर महानगरपालिका–१५ शान्ति चोकमा रंगशाला बन्ने कुराले हर्षित बनेका स्थानीयवासी निराश छन्। वडा–१६ मा सीमा जोडिएको उक्त स्थानमा विकास जोडिने अपेक्षा गरेका उनीहरू रंगशालाको अवस्थाले चिन्तित छन्।

घरै अगाडि रंगशाला बन्न लागेको कुराले भरतपुर–१६ शान्ति चोककी सीता पौडेल निकै खुसी थिइन्। ओझेलमा परेको गाउँमा विकासको लहर आउला भन्ने उनीसहित छिमेकी उत्साहित थिए। तर, रंगशाला निर्माणको अन्यौेलले दुखी छन्।

‘रंगशाला बनेपछि हाम्रो ठाउँ पनि बन्छ भनेर खुसी भएका हामीलाई अहिले दुःख लागेको छ’, उनले भनिन्, ‘रंगशाला बने त हाम्रो ठाउँ पनि बन्थ्यो होला।’६ वटा ब्लक रहेको प्याराफिटमध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ।

दर्शक बस्ने १६ मध्ये चार तहको सिँढी बनेको छ। दुईवटा भीआईपी ब्लकको जगमात्रै हालिएको छ। रंगशालाको बीच भागमा खेल मैदानमा दुबो रोपिएको थियो। पिच निर्माणका लागि माटो प्रशोधन गरेर राखिएको छ। स्वामित्वको टुंगो नलाग्दा बनेका संरचना नै बिग्रने अवस्थामा पुगेका छन्।

मैदानलाई घेरेर २३ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन तयार भएको छ। त्यसलाई छोप्ने ढक्कन पनि बनिसकेको छ।निर्माणमा संलग्न धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएअनुसार काम सुरु भएको करिब दुई महिनामा प्रतियोगिता नै गर्न मिल्ने मैदान तयार हुनेछ।

अहिलेसम्म ३५ प्रतिशत काम भएको फाउन्डेसनको दाबी छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले आर्थिक स्रोतको अभावले काम नभएको बताए। ‘हाम्रो कुनै व्यवस्थापकीय कमजोरीले गर्न नसकेका होइनौं।

निर्माणलाई नरोक्ने भन्दै उधारोमा समान झार्दा तिर्नुपर्ने दायित्व थपिँदै गयो । बोलकबोल भएको रकम पनि उठेन’, उनले भने, ‘परिस्थिति सहज नबनेको र आर्थिक सुनिश्चितता नभएपछि हामीले स्वामित्वको लागि महानगरलाई पत्राचार गरेका हौं।

एउटै समस्या भनेको आर्थिक अभाव हो।’ क्रिकेट रंगशालाको काम भदौदेखि रोकिएको हो। भरतपुर महानगरपालिका र फाउन्डेसनबीच २०७५ माघ १६ गते भरतपुर महानगरपालिकाले उपलब्ध गराएको २० बिघा ८ कट्ठा जग्गामा फाउन्डेसनले रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो।

सम्झौतापत्रमा ‘विशेष परिस्थिति सिर्जना भएको अवस्थाबाहेक रंगशाला शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर फाउन्डेसनले महानगरपालिकालाई हस्तान्तरण गर्ने’ भनिएको छ।

करिब १८ करोड ऋण देखाउँदै कामबाट पछि हटेको छ फाउन्डेसन। आर्थिक संकटका कारण देखाउँदै फाउन्डेसनले विशेष परिस्थितिको कारण देखाउदै पौष २ गते भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व हस्तान्तरण गर्न पत्र लेखेको थियो।

महानगरको कार्यपालिका बोर्डले निर्माण प्रक्रियाअघि बढाउन खेलकुद मन्त्रालयलाई आग्रह गरेर पत्र पठाएको थियो। फाउन्डेसनले पुस मसान्तसम्मको लेखा परीक्षण महानगरलाई बुझाएको छ।

गत माघ २० गतेसम्म भरतपुर महानगरले गरेको स्वतन्त्र लेखा परीक्षण गर्दा १८ करोड ४३ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व छ। महानगरपालिकाले ऋण धेरै भएकै कारण स्वामित्व लिन सकेन ।

महानगरले आर्थिक र प्राविधिक मूल्यांकन गरेर सरकारलाई स्वामित्वका लागि अनुरोध गरेको छ ।काम रोकिएदेखि रंगशालाको कामलाई महानगरले गम्भीर रूपमा लिएको महानगर प्रमुख रेनु दाहालले बताइन्।

‘ठूलो आकारको ऋणलाई महानगरपालिकाले बेहोर्न नसक्ने भएकाले रगंशालाको काम अघि बढाउन सहजीरकणका लागि सरकारलाई आग्रह गरिएको हो’, दाहालले भनिन्, ‘सम्झौतामा ऋणको भारको कुरै छैन।

तैपनि रोकिएको कामलाई अगाडि बढाउन एकमुस्ट निर्णय गरिदिन महानगरका तर्फबाट प्रधानमन्त्रीसहितलाई आग्रह गरेका छौं।’ भरतपुर महानगरले मात्रै ८ करोड रुपैयाँ नगद सहयोग गरेको थियो।

मन्त्रिपरिषद्ले अध्ययनका लागि सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधारको संयोजकत्वमा साउन ९ गते कार्यदल बनाएको थियो। कार्यदलको प्रतिवेदनका आधारमा सम्बन्धित मन्त्रालयले प्रस्ताव तयार गर्छ।

उक्त प्रस्तावका आधारमा सरकारले निर्णय गर्नेछ। ‘डिजाइन अनुसारको प्याराफिट, ग्राउन्ड तयार छ। पिच बनाउने माटो प्रशोधन गरेर राखिएको छ। अन्नपूर्ण पोस्ट


Last Updated on: August 22nd, 2022 at 3:01 pm

तपाईको प्रतिक्रिया