मंगलबार १८ आश्विन २०७९

काठमाडौ । धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ ।

मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै साम्पाङले दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् । उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।

साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन् ।

उनले भनेका छन् – छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६०,०००/- रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !

पछिल्ला दिनमा साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहमाथि विभिन्न टिप्पणी गरेर चर्चामा छन् ।सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन् ।

यता काठमाडौं महानगरपालिकाले महानगरभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ। महानगर प्रमुख बालेन्द्र शाहका स्वकिय सचिव भूपदेव शाहका अनुसार आज नयाँ बानेश्वरबाट पार्किङ क्षेत्रका बेसमेन्ट हटाउन सुरु गरिएको हो।

नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट नगर प्रमुख बालेन्द्र शाहको उपस्थितिमा त्यस्ता पसल तथा अन्य संरचनाहरु हटाउन निर्देशन दिइएको हो। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो।

बेसमेन्ट हटाउनका लागि महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट सो काम सुरु भएको स्वकिय सचिव शाहले जानकारी दिए।


Last Updated on: August 22nd, 2022 at 3:07 pm

तपाईको प्रतिक्रिया