Ultimate magazine theme for WordPress.

‘साह्रै निष्ठुरी रहेछ यो सहर, अब कहिल्यै फर्किन्नँ’

105

त्रिशूली लिगुका लालबहादुर लामा पटकपटक कोल्टे फेरिरहन्छन्। हातखुट्टा चलाइरन्छन्। सिरानीमै छ उनको कमाइखाने साधन रिक्सा, जो २६ वर्षदेखि उनीसँगै छ। चिसोबाट बच्न रिक्साको गद्दीको सिरानी लगाएका छन्।

कलेटी परेका ओठ फुटेको छ। चाउरिँदै गएको अनुहारमा मुजा पर्न थालेको छ। यात्रु पाए बोक्छु भन्ने उनको साहसचाहिँ घटेको छैन। राति ९ बजेसम्म उनका आँखा सडकतिरै हुन्छन्। ठमेलस्थित सडकमा प्लास्टिक, थोत्रो तन्ना र मैलो कम्बलको सहारामा रात बिताउँछन् अचेल लालबहादुर।

उनी भन्छन्, ‘एकातिर भुइँको चिसोले निद्रा बिथोल्छ अर्कोतिर कतिखेर–कतिखेर आउने गाडीको बेगले ब्युँझन्छु।’ रिक्सा एकै ठाउँमा उभिएको तीन दिन भइसक्यो। तर यात्रु छैनन्। शरीरलाई आराम दिन घुँडा खुम्च्याएर सुत्छन् उनी। शरीरले आराम खोज्छ तर उनको शरीरले निषेध आदेशको दिनदेखि आराम पाउन छाडेको छ।

निषेध आदेशले उनको रोजीरोटी मात्र खोसेन, बेचैनी र छटपटी बढाएको छ। उनको निद्रा हराएको छ। महामारीअघि दिनको १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउने गरेका उनको खल्तीमा अहिले एक रुपैयाँ पनि छैन। पहिला रिक्सा गह्रुँगो मन हलुका हुन्थ्यो अहिले मन भारी रिक्सा हलुका भएको छ’, रिक्साको सिटको सिरानी मिलाउदै उनले भने।

निषेध आदेशले उनको रोजीरोटी मात्र खोसेन, बेचैनी र छटपटी बढाएको छ। उनको निद्रा हराएको छ। महामारीअघि दिनको १५ सय देखि २ हजार रुपैयाँसम्म कमाउने गरेका उनको खल्तीमा अहिले एक रुपैयाँ पनि छैन। कोठामा नबसेर किन गल्लीमा आएको त? उनी भन्छन्, ‘कोठामा खाने कुरा छैन।

कोठा देख्दा बिरक्त लाग्छ त्यो भन्दा त सडकमै ठिक छ, कोही यात्रु आइपो हाल्छन् कि?’ कोठामा खानेकुरा सकिएको एक साता बितिसकेको छ। गोजीमा पानी किन्नसमेत पैसा छैन उनको। उनी काठमाडौंका गल्लीमा २०५२ सालदेखि निरन्तर रिक्सा चलाइरहेका छन्।

अहिले जोश हराउँदै छ। ५८ वर्षीय लामा भन्छन्, ‘अब दुई तीन वर्ष मात्रै काम गर्ने सोच छ। बूढो शरीरले कति नै थेग्ला र?’ लैनचौरमा तीन हजार तिरेर टहरोमा बस्छन् लामा। त्यही टिनले छाएको टहरो पनि बिरानो लाग्न थालेको छ उनलाई। एकातिर घरभाडा तिर्न सकेका छैनन्, अर्कोतिर कोठामा दानापानी छैन।

वैशाख १६ अघि गाडी नपाएका कारण उनी गाउँ जान सकेनन्। त्यसपछि गाडी चलेको छैन। हिँडेर त्रिशूली पुग्ने आँट पनि त छैन उनलाई। रिक्सा भाडाबापत दिनको १०० रुपैयाँ तिर्नुपर्छ। तर अहिले साहुले छुट दिएका छन्। काठमाडौंका मान्छेको मन सानो भएको उनको अनुभव छ।

‘काठमाडौका मान्छेका घर ठूला मन साना हुन्छन्। खानेकुरा बाटोमा फाल्छन् भोकालाई तिरस्कार गर्छन्’, उनले भने। निषेध आदेशकै बीचमा एक दिन उनले एकजनालाई बोकेर वसन्तपुर पुर्‍याए। डेढ सय रुपैयाँ कमाइ भयो। पेटभर भात खाए। एक दुई कप चिया पनि।

उनी चियाका अम्मली रहेछन्। चाहेको सबै कुरा कहाँ पुग्छ र? तिर्खा लाग्दा पानी त खान पिउन नपाउने उनलाई दिनदिनै कसले चिया कसले दिन्छ र? यत्तिका वर्ष काम गर्दा भविष्यका लागि भनेर केही जोहो नगरेको त? उनी भन्छन्, ‘कमाएको पैसाले भाडा तिरें, खाएँ, बचेको पैसा घरमा पठाएँ।’

सडकमा सुत्दा कोरोना सर्न सक्छ नि भन्न नपाउँदै उनले रोगभन्दा भोकले मर्न लागेको गुनासो गरे। ‘गाउँमा भए पेटभर मकैको ढिँडो त खाइन्थ्यो यहाँ त एकातिर भोकको पीर अर्कोतिर कोरोनाको’, उनी सुनाउँछन्। ‘यसपालिको कोरोनाले त धेरै मरिरहेका छन् रे है बाबु?’ उनले जिज्ञासा राखे।

उनी यताउति हिँड्ने मान्छेबाट कोरोनाले धेरै मान्छे मरिरहेको सुन्दा रहेछन्। पोहोर लकडाउन हुँदा उनी घर गएका थिए। यसपालि पनि घर जाने रहर त छ तर जान सकेका छैनन्। उनी भन्छन्, ‘अरु बेला आज काम नपाइए भोलि पाइएला भन्ने आस हुन्थ्यो तर अहिले त न आज न भोलि। बजार सुनसान छ कहाँबाट मान्छे पाउनु?’

पुनर्जन्म भयो भने उनलाई धनी भएर जन्मिन मन छ। ‘पुनर्जन्म भयो भने धनीको घरमा जन्म होस्। यस्तो दुःखकष्ट गर्न नपरोस्। पेटभर खान पाइयोस्। आन्नदले सुत्न पाइयोस्’, खुइय्य गर्दै लालबहादुरले भने। सरकार र महानगरपालिका मजदुरका लागि राहतको व्यवस्था गरिएको छ भन्छन्।

उनका मनका वेदना धेरै रहेछन्। ‘हरेक कुरा शब्दमा भन्न सकिँदैन। वेदना धेरै छन् गरिबसँग। जिन्दगी नै श्राप हो रहेछ’, उनले भने। गाउँमा दाजुभाइ र आफन्त छन् उनका। भन्छन्, ‘गाडी खुलेपछि त गाउँ गएर बस्छु, काठमाडौं कहिल्यै आउँदिनँ। साह्रै निष्ठुरी रहेछ यो सहर।’