
गत अक्टोबर ५ मा न्युयोर्कको जेलमा ज्यान गुमाएका २७ बर्षीय नेपाली युवा मनिष कुँवरको अन्त्येष्टिको टुंगो झण्डै १ महिनापछि लागेको छ । मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने नेपाली मूलका सांसद ह्यारी भण्डारीको कार्यालयले कुँवरको अन्त्येष्टिका लागि सहयोग गरेको हो ।
कुँवरको अमेरिकामा नजिकको परिवार नभएको र उनकी बहिनी जागिरका कारण मध्यपूर्वमा रहेको परिस्थितिलाई ध्यानमा राख्दै भण्डारीको कार्यालयले उनको अन्त्येष्टिको व्यवस्था गर्न पहल गरेको हो ।अमेरिकामा रहेका कुँवरका एक जना टाढाका नातेदार सहयोगको लागि भण्डारीको कार्यालयमा पुगेका थिए ।
परिस्थितिको गम्भीरता र परिवारले भोगिरहेको भावनात्मक अशान्तिलाई बुझ्दै प्रतिनिधि भण्डारीको कार्यालयले मुद्दामा तोकिएको वकिलसँग नजिकबाट काम गरिरहेको जनाएको छ। भण्डारीको कार्यालयले कुँवरको शवलाई अन्त्येष्टि गृहमा स्थानान्तरण गर्न र अन्त्येष्टि प्रक्रियाका लागि आवश्यक सबै कागजी कार्यहरू संकलन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
ह्यारी भण्डारीले यो हृदयविदारक अवस्था भएको र आफ्नो प्राथमिक चिन्ता कुँवरको उचित अन्तिम संस्कार होस् भन्ने सुनिश्चित गर्नु रहेको बताएका छन् । यस्ता चुनौतीपूर्ण समयमा परिवार र समुदायलाई सहयोग गर्न आफूहरु तत्पर रहेको उनले बताए । आफ्नो कार्यालयले मध्यपूर्वमा रहेकी मनीषकी बहिनी र स्थानीय अधिकारीहरूबीच सम्पर्क सुनिश्चित गर्न सक्रिय रूपमा समन्वय गरिरहेको उनले बताएका छन् ।
अक्टोबर ५ मा न्युयोर्क सिटीको कुख्यात राइकर्स आइल्याण्ड जेलमा नेपाली युवा मनिष कुँवरको मृत्यु भएको थियो । रहस्यमय मृत्यु भएका २७ बर्षीय नेपाली युवा मनिष कुँवर मानसिक बिरामी र घरबारविहीन थिए । उनी अक्टोबर ५ बिहिबार विहान जेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्यु भएको कैयन घण्टापछि शव फेला परेको थियो । उनको शव विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा भेटिएको थियो ।
अन्तिम पटक सुरक्षा अधिकारीहरूले कुँवरलाई उनको शव फेला पार्नु भन्दा १० घण्टा अघि सुरक्षा भिडियोमा जीवित देखेका थिए । कुँवर बुधबार राति ८ बजेर २६ मिनेटमा आफ्नो सेलमा हिड्दै गरेको अवस्थामा देखिएको जनाइएको छ । सेप्टेम्बर २७ मा जेल पर्नुअघि उनी लागूऔषध दुर्व्यसन, मानसिक रोग र घरबारविहीनतासँग संघर्ष गरिरहेका थिए । घरबारविहीन भएर सडकमा संघर्ष गर्दा ज्यान नगुमाएका कुँवरको सरकारी जेलभित्र मृत्यु भएपछि एकजना करेक्सन क्याप्टेन र एकजना अधिकारीलाई निलम्बन गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । क्याप्टेनको निलम्बन र भिडियोले जेलका कर्मचारीहरूले रातभर कुँवरको युनिटमा चेकजाँच नगरेको देखिएको छ । डिपार्टमेन्ट अफ करेन्सनको नीति अन्तर्गत कर्मचारीहरूले कम्तिमा प्रत्येक आधा घण्टा एकाइहरू भ्रमण गर्न आवश्यक छ।
कुँवर सन् २०१६ मा डिभी परेर नेपालबाट अमेरिका आएका थिए । उनी त्यसलगत्तै होमलेस भएको जनाइएको छ । सात बर्ष अगाडि न्युयोर्क सिटीमा भेटिंदा उनी होमलेस भएका थिए । उनी न्युजर्सीमा रहेको एउटा होमलेस सेल्टरमा समेत बसेका थिए । उनी न्यु जर्सीको अरु ठाउँमा पनि बसोबास गरेको तथा रेस्टुरेन्ट र कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेको जनाइएको छ । पछि उनको काँधमा चोटपटक लागेपछि उनी थप समस्यामा परेका थिए । उनी लामो समयदेखि मानसिक रोग, लागुऔषध र रक्सीसँग जुधिरहेका थिए ।