
काठमाडौं
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अघिल्लो रात खराब हार बेहोर्दै काराबओ कप फुटबलको दोस्रो राउन्डबाटै आउट भयो । आफ्नै घरेलु मैदानमा न्यूक्यासलसँग ०–३ को लज्जास्पद हार भोग्दै युनाइटेडले ब्याक टु ब्याक खराब हार भोग्यो । सो खेलअघि युनाइटेड प्रिमियर लिगमा आफ्नै घरमा म्यानचेस्टर सिटीसँग पनि ०–३ ले नै हारेको थियो ।
लगातार दुई खेल आफ्नै घरमा खेल्दा युनाइटेडले समान ०–३ कै दुई खराब हार भोग्यो । सिटीसँग र न्यूक्यासलसँगको यी दुवै हारपछि युनाइटेड इतिहासकै खराब हालतमा आइपुगेको छ । डच प्रशिक्षक इरिक टेन ह्यागको नेतृत्वमा चुलीबाट फेदीतर्फ झरिरहेको ओल्ड ट्राफोर्ड क्लबको स्थिति अहिले साँच्चै बिजोगपूर्ण स्थितिमा छ । दुई खराब तथ्यांक–
पहिलो, न्यूक्यासलसँगको ०–३ को हारपछि म्यानचेस्टर युनाइटेड ६० वर्षयताकै सबैभन्दा खराब अवस्थामा छ । यो सिजन युनाइटेडले सुरुआती १५ खेल खेलिसक्दका ८ भन्दा बढी खेल हारिसकेको छ । र, यस्तो भएको सिजन १९६२–६२ पछि ६० वर्षको बीचमा पहिलोपटक हो ।
दोस्रो, युनाइटेडले ९२ वर्षपछि सुरुआती १० होम म्याचमा ५ खेल हारेको छ । यो पनि खराब रेकर्ड हो । युनाइटेडले सिजन १९३०–३१ यता यसै सिजन पहिलोपटक आफ्नो घरेलु मैदानमा खेलेका १० खेल मध्ये ५ खेल हारेको हो । ९२ वर्षपछिको यो खराब रेकर्ड टेन ह्यागको नेतृत्वमा बनेको छ ।