
काठमाडौं । हिजो राति काठमाडौंको बुढानिलकण्ठमा भएको बिभत्स सवारी दुर्घटनामा राष्ट्रिय बाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत कर्मचारी राज सागर अधिकारीको घटनास्थलमै निधन भएको छ ।
नुवाकोट गणेशस्थान ४ स्थायी ठेगाना भएका अधिकारी बुढानिलकण्ठस्थित निवासतर्फ स्कुटरमा फर्कदै गर्दा तीव्र गतिमा विपरित दिशाबाट आएको डुकाटी बाइकले ठक्कर दिँदा उनको घट्नामस्थलमै निधन भएको हो ।
घटनामा सिद्धार्थ बैंकका अर्का एक कर्मचारी समेत घाइते भएका छन् । उनी अधिकारीले चलाएको स्कुटरको पछाडि बसेका थिए । त्यस्तै मोटरसाइकल चालक पनि गम्भिर घाइते भई नर्भिक अस्पतालको आईसियुमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
बुढानिलकण्ठबाट महाराजगन्ततर्फ आउँदै गरेको डुकाटी नामको बा ९५ प २६०७ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । तीव्र गतिमा कुदाइएको उक्त बाइकले अधिकारीले चलाएको बागमति प्रदेश २ ०४४ ०५१३ नम्वरको स्कुटरलाई सिधैं अगाडिबाट ठक्कर दिएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट स्कुटरको अगाडिको भाग पूर्ण रुपमा क्षति भएको छ ।