
काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।
नेपाल र युएईबीच टि२० आईमा कुल ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले २०१९ मा उसकै घरेलु मैदानमा तीन टि२० आई खेलको सिरिज २–१ ले जितेको थियो । उक्त सिरिजमा नेपालले पहिलो खेल २१ रनले हारेपनि दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले विजयी भएको थियो । नेपालले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय टि२० आई सिरिज थियो ।
गतवर्ष आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि चार देश सम्मिलित सिरिजमा नेपाल युएईसँग २५ रनले हारेको थियो । विश्वकपमा पुग्न निर्णायक सेमिफाइनल खेलमा नेपालले युएईसँग ६८ रनको हार व्यहोरेको थियो ।
नेपालले अघिल्लो साता त्रिकोणात्मक टि२० आई सिरिजमा माथिल्लो मुलपानी मैदानमा युएईलाई ५ विकेट र ७ विकेटले हराएको थियो । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाल युएईसँग ४ विकेटले हारेको थियो ।
धेरैको ध्यान आजको खेलमा दीपेन्द्र खेल्न आउँछन् वा आउदैनन् भन्ने छ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो । टसको समयपछि उनी घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई नेपालले मौका दिएको थियो ।
मंगलबार मलेसियासँगको सन्दीप लामिछानेले उनलाई ठिक हुन एक महिना भन्दा बढी समय लाग्ने हुँदा विश्वकप छनोट गुमाउने बताएका थिए । सन्दीपले नेपाललाई टि२० विश्वकपमा पुर्याउँदै दीपेन्द्रलाई गिफ्ट दिने बताएका थिए ।
ओमानसँगको हारपछि मुख्य प्रशिक्षक मोन्टी देशाईले दीपेन्द्रलाई टोलीमा फर्काउन प्रयास गरेको बताएका थिए । तर मोन्टीले दीपेन्द्रको करिअर महत्वपूर्ण भएको प्रष्ट पारेका थिए ।
दीपेन्द्र ओमानसँग खेल्नुअघि टिम वैठकमा सुरुमा आएका थिएनन् । तर कप्तान रोहितले दिप्पी दाईलाई पनि बोलाउन भनेपछि उनी मैदान आएका थिए । टिम बैठकपछि उनी ड्रेसिङ रुम लागेका थिए । बिहान उनले कुनैपनि अभ्यास गरेका थिएनन् ।
सोमबार उपचारपछि दीपेन्द्र वैशाखी टेकेर मैदान फर्किएका थिए । तर बिहीबार दीपेन्द्रले वैशाखी हटाएका थिए । हिँड्न केहि सहज देखिएपनि अभ्यास उनले गरेका थिएनन् ।
तर नेपाल र ओमानबीचको खेलकोक्रममा दीपेन्द्रले नेटमा गएर अभ्यास गरेका थिए । त्यहिँ अभ्यासको कारण दीपेन्द्र खेलमा फर्किन सक्ने झिनो सम्भावना छ । उनले नेटमा अभ्यास गर्नुको मुख्य कारण नै खेल्ने मनासय बनाउने हुनसक्छ । तर खुट्टाको एंकल हुँदा उनलाई निकै कठिन हुने देखिन्छ । दीपेन्द्र मैदान उत्रर्न आफ्नो करिअरनै धरापमा राखेर खेल्नुपर्ने हुन्छ ।
नेपाललाई टि२० विश्वकपमा पुर्याउन दीपेन्द्र त्यो जोखिम लिन सक्छन् । तर युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिकले योर्करमा दीपेन्द्रलाई थप समस्या पार्नसक्छन् । दीपेन्द्र फिट छैनन् । त्यसैले उनी रन लिदा कुद्न नसक्ने पक्का छ ।
दीपेन्द्र नेपाली टोलीमा सर्वाधिक गतीमा रन लिदा कुद्ने ब्याटर हुन् । उनको फिल्डिङ र बलिङ त्यतिकै उत्कृष्ट छ । तर खुट्टाको कारण खेलेको खण्डमा उनले फिल्डिङ र बलिङ भने नगर्ने पक्का छ । दीपेन्द्र खेलेको खण्डमा ब्याटिङ मात्रै गर्नेछन् ।
यदी दीपेन्द्र खेलेको खण्डमा सन्दीप जोरा प्लेइङ-११ बाट बाहिर हुनेछन् । अन्य कुनैपनि खेलाडी टोली बाहिर हुने सम्भावना छैन । विवेक यादव दीपेन्द्रको स्थानमा खेलेका थिए । तर ओमानविरुद्ध उनले पाँच छक्कासहित ३९ रन बनाएका थिए ।
नेपालबाट उक्त खेलमा सर्वाधिक रन बनाएका विवेकले टोलीमा निरन्तरता पाउने पक्काछ । उनले अन्तिम ६ बलमा २६ रन चाहिँदा लगातार तीन छक्का हान्दै खेल रोचक बनाएका थिए । तर चौथो बलमा आउट भएपछि खेल मोडिएको थियो ।
दीपेन्द्रको अर्को विकल्पमा गुलशन झा हुन् । तर गुलशनले तीव्र गतिमा बलिङ गर्दै विकेट लिँदै आएका छन् । त्यसैले यदि दीपेन्द्रले आफ्नो करिअरनै जोखिममा मोलेर खेलेको खण्डमा सन्दीप जोरा बाहिर हुने पक्काछ । दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेको हुँदा खेल्न सक्ने झिनो सम्भावना मात्रै छ ।
ओमानसँगको हारले नेपाली टोली केहि दबाबमा छ । नेपालका सर्वाधिक सफल टि२० खेलाडी बेन्चमा हुँदा ठूलो घाटा लागेकोछ । खुट्टाको एंकलको चोट हुँदा दीपेन्द्र खेल्ने सम्भावना एकदमै न्यून छ । यदि खेली हालेपनि दीपेन्द्र ब्याटिङ र हिटिङका लागि मात्रै खेल्नेछन् ।
नेपालको ओपनरमा आसिफ र कुशल भुर्तेल हुनेछन् । कुशलले आक्रामक सुरुवात दिलाएपनि आसिफले संघर्ष गर्दै आएका छन् । नेपालको ब्याटिङक्रम लगातार अस्थिर छ । ओमानविरुद्ध सोमपाललाई ब्याटिङमा तेस्रो नम्बरमा पठाएको थियो । जुन हारको मुख्य कारण थियो । तेस्रो नम्बरमा रोहित पौडेल खेल्ने सम्भावना छ ।
कुशल मल्ल चौथो नम्बरमा खेल्नेछन् । कुशल नेपालको प्रमुख खेलाडी हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पाँचौं नम्बरमा सन्दीप जोरा वा दीपेन्द्र मध्य एक हुनेछन् । छैटौं नम्बरमा विवेक यादव खेल्ने सम्भावना छ ।
विवेकले ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हुँदा गुलशनमाथि पठाउने देखिन्छ । सोमपाल कामी, गुलशन झा र करण केसी हुनेछन् । यी तीन खेलाडी टोलीको आवश्यकता अनुसार कुनैपनि स्थानमा खेल्नसक्छन् । तल्लोक्रममा सन्दीप र अभिनाश हुनेछन् ।
दीपेन्द्र नहुँदा स्पिन आक्रामण केहि कमजोर बनेको छ । सन्दीपलाई अर्को एन्डबाट कुशल मल्लले साथ दिनेछन् । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् ।
दीपेन्द्र नहुँदा नेपालले गुलशन झालाई लगातार बलिङ गराउदै आएको छ । डेथ ओभरमा कमजोर बलिङ नेपालको समस्या हो । जुन आजको खेलमा सुधार गर्नुपर्ने हुन्छ । नेपाली ब्याटरले खेलमा जिम्मेवारी देखाउन आवश्यक देखिन्छ ।
नेपालको सम्भावित प्लेइङ–११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र सन्दीप जोेरा वा दीपेन्द्रसिंह ऐरी मध्य एक ।