बुधबार २० मंसिर २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा जारी आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र युएईबीचको सेमिफाइनल खेल घरमै बसेर हेर्न सम्पूर्ण दर्शकलाई अनुरोध गरेको छ ।

क्यानले बिहीबार एक सूचना प्रकाशित गर्दै भोलि (शुक्रबार) मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल सकेसम्म घरमै बसेर हेर्न दर्शकलाई अनुरोध गरेको हो ।

क्यानले मुलपानी क्रिकेट मैदानको दर्शक क्षमता अनुसार भोलिको खेलका लागि मात्र ३ हजार ५ सय टिकट उपलब्ध गराउने जनाएको छ । यस्तै भोलिको खेलको टिकट अनलाइन मार्फत आईएमई पेबाट मात्र किन्न सकिने र मैदानमा टिकट बुथ उपलब्ध नहुने समेत जानकारी गराएको छ ।

त्यस्तै क्यानले नेपाल क्रिकेट संघ र क्रिकेटसँग सम्बन्धित सबै अतिथिलाई समेत मुलपानीमा शुक्रबार हुने नेपाल र युएईबीचको खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेरेर सहयोग गरिदिन अनुरोध गरेको छ ।

नेपालले शुक्रबार विश्वकप छनोटको फाइनलमा पुग्न युएईको सामना गर्दै छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै समूह विजेता बनेपछि नेपालले सेमिफाइनल प्रतिद्वन्दीको रुपमा युएईलाई पाएको हो।

आज नै मुलपानी क्रिकेट मैदानमा भएको समूहको अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । अब समूह ए को उपविजेता नेपाल र समूह बी को विजेता युएई एक आपसमा भिड्न लागेका हुन् ।

यी दुई टोलीबीचको खेल बिहान ११ बजेबाट शुरु हुनेछ । भोलिको खेल जिते नेपाल ८ टोलीले प्रतिस्पर्धा गरिरहेको एसिया क्षेत्र छनोटको शीर्ष दुई रहँदै २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकपका लागि छनोट हुनेछ ।

३ मध्ये खेलमा दुईमा जित तथा १ मा हारको नतिजासहित ४ अंकका साथ नेपाल समूह ए को दोस्रो स्थानमा रहँदा समूहमा शतप्रतिशत जित निकालेको ओमान ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । यता समूह बी मा युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।

समूह बी कै अन्तिम खेलमा बहराइन कुवेतसँग ४ विकेटले पराजित भएपनि नेटरनरेट हङकङलाई झिनो अन्तरले पछि पार्दै बहराइनले सेमिफाइनलमा स्थान बनाएको छ ।

यस नतिजासँगै बहराइन समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अब बहराइनले शुक्रबारै बिहान ११ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने सेमिफाइन खेलमा समूह ए को विजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

एशिया क्षेत्र छनोटमा सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया तथा समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका थिए ।

समूह चरणको खेलपछि समूह ए बाट ओमान विजेता तथा नेपाल उपविजेता र समूह बी बाट युएई ३ खेलमा शतप्रतिशत जितसँगै ििवजेता तथा बहराइनल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।

अब फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप आफ्नो स्थान पक्का गर्नेछ प्रावधान रहेको छ।


Last Updated on: November 3rd, 2023 at 9:47 am

३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया