सोमबार १८ मंसिर २०८०

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा हुँदैछ । मुलपानी माथिल्लो मैदानमा खेल ११ बजे सुरु हुने छ ।

आजको खेल जित्ने टोली सिधै आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ । अपराजित यात्रा कायम राखेको युएईको लक्ष्य घरेलु दर्शकमाझ नेपालालाई स्तब्ध बनाउने छ ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।

समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमै समेटियो । नेपालका लागि विवेक यादवले पाँच छक्काको मद्दतल सर्वाधिक ३९ रनको योगदान गरे ।

प्रशिक्षक मोन्टी देशाईले तेस्रो खेलमा नखेलेका घाइते दीपेन्द्र सिंह ऐरी मैदान फर्कन सक्ने बताएका छन् । उनले आजको दिन हेर्दै ऐरीलाई मैदान फकाएने संकेत गरेका छन् । ओमानविरुद्ध घाइते हुँदा उनी मैदानमा उत्रिएनन् ।

दोस्रो सेमिफाइनलमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरमा हुनेछ ।


Last Updated on: November 3rd, 2023 at 10:08 am

१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया