बुधबार २० मंसिर २०८०

काठमाडौं । आइसिसी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ । अपराजित यात्रा कायम राखेको युएईको लक्ष्य घरेलु दर्शकमाझ नेपालालाई स्तब्ध बनाउने छ ।

समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।

समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । त्यसअघि नेपालले सिंगापुरलाई आठ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यता अपराजित रहेको युएई नेपालविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले पराजित गरेको छ ।

प्रशिक्षक मोन्टी देशाईले समूह चरणमा नखेलेका दीपेन्द्रसिंह ऐरीलाई मैदान उतारेका छन् । दीपेन्द्रले सन्दीप जोराको स्थना लिएका हुन् ।

सिंगापुरकोविरुद्धको पहिलो खेल अगाडी अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए ।

यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा ओमान र बहराइनबीच प्रतिस्पर्धा गर्दैछन् ।


Last Updated on: November 3rd, 2023 at 10:30 am

२२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया