शनिबार १६ मंसिर २०८०

छायाँनाथ रारा नगरपालिका– ६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसंस्कार गरिएको छ। घटना भएको आठ दिन र शवको पोस्टमार्टम भएको चार दिनपछि मात्रै चारैजनाको सामूहिक दाहसंस्कार गरिएको हो।

घटनाको कारण र हत्यारा प्रहरीले पत्ता नलगाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन्। कात्तिक ८ गते बुधबार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो। जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो।

‘जिल्ला अस्पतालमा शव राख्ने कोल्डहाउस नहुँदा शव गल्दै गएकाले समयमै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्धित फैलिने त्रास थियो,’ चिकित्सक अर्जुन भामले भने।

शुक्रबार बिहान छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइबुझाई गरेपछि दीपक बोहोरा शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए।

श्रीदेवी र ११ वर्षीय छोरा मनोजको शव जलाइएको छ भने आठमहिने छोरा रहर र आठ वर्षीया छोरी अप्सराको शव जमिनमा गाडिएको छ।


Last Updated on: November 3rd, 2023 at 7:21 pm

१४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया