शनिबार १६ मंसिर २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ठूलो मानवीय क्षति भएको छ । जाजरकोट र वरिपरीका जिल्लामा दर्जनौँको सङ्ख्यामा मानिसको मृत्यु हुनुका साथै सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले सङ्लो घर देखिनै मुस्किल रहेको बताए ।

जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण यहाँ विद्युत् सेवा अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका छ । शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । शुक्रवार रातिको भूकम्पमा परेको उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । “अहिले म घटनास्थलमै छु । उद्धारको काम भइरहेको छ,” उनले भने ।

भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय २३ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म कम्तीमा एक सय २३ जनाले ज्यान गुमाएका छन् ।

जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको शव छ भने पाँच जनाको शव रिम्नामा राखिएको छ ।

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ भएको छ । भेरी कोरिडोर लगायतका सडकहरू अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको उनले बताए । आफूले पाएको प्रारम्भिक जानकारी अनुसार भेरी नगरपालिकामा मात्रै झन्डै एक सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने नगर प्रमुख घर्तीले बताए ।

उनका अनुसार नगर क्षेत्रमा रहेका घरहरूमा अधिकांश भौतिक संरचनाहरूमा आंशिकदेखि पूर्ण क्षति पुगेको छ । नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार हालसम्म ५० जना बढीले ज्यान गुमाएका छन् । उनका अनुसार वडा नम्बर एकमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । ३० देखि ३५ जना घाइते भएका छन् ।

ठाउँ ठाउँमा सडक अवरुद्ध भएको र टेलिफोनले काम नगरेकाले उद्धारमा कठिनाइ भएको तथा घटनाको यकिन विवरण सङ्कलनमा समस्या भएको उनले बताए।

यस्तै, रुकुम पश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्। पछिल्लो अपडेट अनुसार ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

डिएसपी भट्टराईका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरू भत्किएका छन् भने सडकहरू पनि अवरुद्ध भएका छन् ।


Last Updated on: November 4th, 2023 at 8:35 am

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया