बुधबार २० मंसिर २०८०

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार, भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक थापाले भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको जानकारी दिए । यस्तै रुकुम पश्चिमस्थित नम्बर ४७ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माको नेतृत्वमा २४ जना तथा नम्बर ४७ गुल्मबाट सशस्त्र प्रहरीका वरिष्ठ नायब निरीक्षक बलबहादुर थापाको नेतृत्वमा ११ जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको उनले बताए । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् । त्यहाँ मानवीय क्षति भएको छैन ।

भूकम्प प्रभावितको उद्धार तथा मद्दतका लागि सशस्त्र प्रहरी बल नम्बर ३२ गण सुर्खेतबाट ३५ जनाको टोली जाजरकोटमा खटिएको छ । यस्तै नम्बर ६ बाहिनी सुर्खेतबाट एम्बुलेन्ससहित चिकित्सक टोली जाजरकोटमा खटिएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार नम्बर २९ गण दाङ र आश्रित गुल्म पूर्वी रुकुमबाट पनि टोली प्रमभावित क्षेत्रमा खटिएको छ । बाँकेस्थित नम्बर ४२ रिजर्भ गणबाट २५ जनाको टोली जाजरकोटमा खटिएको छ ।

यस्तै नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा. रोशन पराजुलीसहितको नौ जनाको चिकित्सक टोली नेपाली सेनाको स्काइ ट्रकमार्फत जाजरकोट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका १९ जना बालबालिका छन् । मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन् ।

सोही गाउँपालिका–४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ । आठविसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीय भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीय सरिता विक, १३ वर्षीय मदन गौतमकाे पनि मृत्यु भएकाे छ ।


Last Updated on: November 4th, 2023 at 9:13 am

७१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया