
जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले सग्ला घर देख्न कठिन भएको बताएका छन् ।
गएराति ११ बजेर ४७ मिनेटमा बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले ढुंगा र माटोले बनेका अधिकांश कच्ची घर भत्किएको अध्यष्बा गिरीले बताए । बारेकोटमा बिहानसम्म मानवीय क्षतिको सूचना भने प्राप्त नभएको उनले जानकारी दिए । भूकम्प गएलगत्तै आफू मोटरसाइकलमा पालिकाका सबै वडा पुगेको बताए ।
‘म रातभरि सुतेको छैन । मोटरसाइकल लिएर सबै वडामा पुगें । एउटा पनि घर सग्लो देखिन । तर पालिकाभर अहिलेसम्म मानवीय क्षति भएको भेटिएको छैन’, गिरीले टेलिफोनमा भने । यद्यपि पालिकाका केही क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले अवस्था बुझ्न नसकिएको उनले जानकारी दिए ।
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित जाजरकोट र छिमेकी जिल्ला रुकुमपश्चिममा गरी ८० जना बढीको ज्यान गएको छ ।