Ultimate magazine theme for WordPress.

रकम ठगी फरार रहेका विजयकुमारकाे खाेजी गर्दै तीन दर्जन युवाहरु विराटनगरमा

87

रकम ठगेर फरार बनेको भनेर सप्तरी घर भएका विजयकुमार यादवको खोजी गर्दै युवाहरुको एउटा समूह शनिबार विराटनगर आइपुगेको छ । सिरहाको मिर्चैया नगरपालिका–३ का तीन दर्जन युवाहरु बस रिजर्ब गरेरै विराटनगर आइपुगेका हुन् ।

मिर्चैयाका महेशकुमार यादवले कुवेत पठाइदिने भन्दै आफूसँग यादवले दुई पटक गरेर ५५ हजार रुपैयाँ लिएको बताए ।वैदेशिक रोजगारीका लागि लैजानेभन्दै सिरहा, सप्तरी, धनुषा र जनकपुरका १ सय ९२ जनासँग मात्रै जनही १५ हजारदेखि ३ लाख रूपैयाँसम्म लिएर यादव फरार बनेको गुनासो युवाहरुको छ ।

मिर्चैयामा मासिक १६ हजार तिर्ने सर्तमा घर भाडामा लिएर अध्ययन एवं रोजगारीका लागि विदेश पठाइदिने भन्दै यादवले रकम असुलेको बताइएको छ ।यादवले घर भाडासमेत नतिरेको घरधनी गुरुप्रसाद साफीले बताए । यादव अहिले विराटनगर महानगरपालिका–१२ मा घर बनाएर बसोबास गरिरहेको जानकारी पाएपछि फसेको पैसा उठाउन आइपुगेको युवाहरु बताउँछन् ।

अहिलेसम्म सिरहाबाट मात्रै १ करोड ५० लाखभन्दा बढी असुलेर यादव भागेको दाबी युवाहरुले गरेका छन् । कार्यालयमा राखिएका कर्मचारीलाई तलाबसमेत नदिइकन यादव भागेको बताइएको छ । यादवको कार्यालयमा सफाई कर्मचारीका रूपमा काम गरेका शिवनारायण यादवका अनुसार कोरिया, जापानसमेतका मुलुक पठाइदिने भनेर एक जनाबाट ३ लाख रूपैयाँसम्म असुलिएको थियो ।

पीडित बनेका युवाहरुबाट पैसासँगै यादवले राहदानी (पासपोर्ट)समेत लगेको बताइएको छ । उनीहरुले विराटनगर–१२ स्थित यादवको घर शनिबार दिनभर घेराउ गरे । घरको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।