
काठमाडौं – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल उच्च प्रदर्शन गरेका आसिफ शेख खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
शुक्रबार विश्वकप छनोटको सेमिफाइनलमा युएई विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका आसिफ खेलको प्लेयर अफ द म्याच बनेका हुन्। शेखले प्लेयर अफ द म्याच बन्दै ५० हजार नगद प्राप्त गरे।
यस्तै खेल पश्चात प्रदान गरिने सबै पुरस्कारमा नेपालको कब्जा रह्यो। कुनै पनि पुरस्कार युएईका खेलाडीले जित्न सकेनन्। बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई दिइयो।
बेस्ट क्याचको अवार्ड कुशल भुर्तेलले प्राप्त गरे। दुवैले १०-१० हजार रुपैंयाँ प्राप्त गरे। यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे। उनलाई १५ हजार प्रदान गरियो।
फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेलले प्राप्त गरे। त्यसका लागि उनले १५ हजार प्राप्त गरे। माइलस्टोन अफ द डेको २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो।