बुधबार २० मंसिर २०८०

५४ वर्ष पुरानो एउटा खबर सामाजिक सञ्जाल र विभिन्न सञचारमाध्यममा अहिले निकै फैलिएको छ। दि न्युयोर्क टाइम्समा फेब्रुअरी २५, १९७० मा प्रकाशित त्यो समाचार त्यसै ‘भाइरल’ भएको होइन, त्यसको विषय गरिब नेपालको अपत्यारिलो महँगो बिहेसँग सम्बन्धित छ। र, त्यो बिहे थियो, तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको। अर्थमन्त्री कीर्तिनिधि विष्टले प्रस्तुत गरेको २०२६/२७ को बजेटमा राजस्व संकलनको लक्ष्य जम्मा ४२ करोड ८० लाख रुपैयाँ राखिएको थियो। जबकि, युवराज वीरेन्द्रको बिहेमै २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिएको थियो। अत्यन्त तामझामपूर्ण र भड्किलो उक्त बिहेको ६ महिना लगाएर गरिएको तयारीकै बीच न्युयोर्क टाइम्सले यो सामग्री प्रस्तुत गरेको थियो। तत्कालीन राजसंस्थाको गरिब जनतासामु के–कस्तो रजगज थियो भन्ने यो एउटा उदाहरण हो। प्रस्तुत छ, न्युयोर्क टाइम्स अर्काइभबाट गरिएको उक्त समाचारको अनुवाद–

nullनयाँ दिल्लीबाट दुइटा विमानमा मिष्ठान्न परिकार आउँदै छन्, सँगै १५० वेटर पनि। नेदरल्यान्डस्बाट पुष्पगुच्छा र जापानबाट दुई सयवटा मोटर गाडी मगाइएको छ। बेलायतबाट ल्याइएका चारवटा सेता घोडा र सवारीका लागि तैनाथ नौवटा हात्ती दैनिक पूर्वाभ्यास गरिरहेका छन्। राजधानी काठमाडौं झकिझकाउ पारिँदै छ। फुस्स रङ उडेका भवनले नयाँ चोला फेरेका छन्। गरिबी झल्किने जे देखिन्छ, हटाउन निर्देशन छ। त्यसैले अरुबेला सडकमा डुलिहिँड्ने बेवारिसे गाईबस्तु लखेटिएका छन्।

किनकि, ‘युवराज’ वीरेन्द्र वीरविक्रम शाहदेवको विवाहको दिन नजिकिएको छ।

nullहेर्दा सानो, गरिब र पुरानो पहाडी मुलुक नेपालले भावी राजा वीरेन्द्रको भव्य विवाह समारोहको तयारीका लागि कुनै कसर बाँकी राखेको देखिँदैन। उनी कुनै दिन राजा पक्कै हुनेछन्। २४ वर्षीय बेहुला वीरेन्द्र हाल युवराज छन्। उनी हिन्दु सिंहासनका उत्तराधिकारी हुन्। विश्वका शक्ति राष्ट्रका विशिष्ट पाहुना मात्रै होइन, यो तयारीले विश्वकै नेपाल बुझ्ने नागरिकको ध्यान तानेको छ। अनि, यो सबै गरिनु/हुनुको हिस्सेदार छिन् राणा परिवारकी २० वर्षीया ऐश्वर्य राज्यलक्ष्मी देवी राणा पनि। भावी रानीका रूपमा अहिले बेहुली बनेर राजदरबार छिर्न लागेकी उनी यो दृश्य बुवाको घरको सानु आँखीझ्यालबाट नियालिरहेकी छन्। केही दिनमा यो झ्याल माइतीघरको झ्याल बन्नेछ।

वीरेन्द्रले नेपालमा वंशजीय प्रधानमन्त्रीका रूपमा शासन गरेका राणा परिवारकी सदस्यसँग फागुन १६ गते शुक्रबार विवाह गर्दैछन्। राणा परिवारलाई वीरेन्द्रका हजुरबुवा त्रिभुवनले सत्ता बाहिर पुर्‍याएका थिए। राणा र शाह परिवारबीच त्यसयता राजनीतिक सम्बन्ध नभए पनि सामाजिक सम्बन्ध भने कायमै थियो। यो क्रममा डोरी जोड्दैछन् वीरेन्द्र। उनको मस्तिष्कमा पनि त्यही कुरा भरिएको छ– राणाबाहेकका शाह परिवार (जो राजाको लाइनमा हुन्छन्) बीच सम्बन्ध जोड्नु हुँदैन। वीरेन्द्रका बुवा महेन्द्रले पनि राणा खान्दानसँगै विवाह गरेका थिए। उनी अहिले छोराको बिहे भव्यताका साथ सम्पन्न गर्न व्यस्त छन्। कुनै कसर बाँकी नराख्न निर्देशन पर्याप्त दिएका छन्। विश्वबजारमा ‘सपिङ’ गरेका छन्। ६ महिनाको तयारी चरितार्थ हुन अब केही दिन मात्रै बाँकी छ।

विभिन्न मुलुकका राष्ट्रप्रमुखसँगै ५० भन्दा बढी मुलुकका प्रतिनिधि समारोहमा सरिक हुनेछन्। यसले पनि विवाह भव्य हुनुपर्ने सोच महेन्द्रको छ। राजधानी काठमाडौं विकसित सहरजस्तै देखाउनु छ। हरित उपत्यकालाई संसारले हेर्न भएकाले सबै व्यवस्था तत्कालको बनावटी भए पनि पाहुना छल्ने गरी सजाउनु कामदारको बाध्यता छ। सडक र फुटपाथ मर्मत गरिएका छन्। सरकारी भवनहरू व्यवस्थित हुन वीरेन्द्रको विवाह कुरेजस्तै भएका छन्। काला घरहरू छोप्न इँटाका पर्खाल छोटो समयमा नै ठडिएका छन्। पाहुनाका आँखा ठोक्किने वस्तुले नेपाल गरिब छ र ? भन्ने प्रश्न निरन्तर दिनेछन्। धनी देखाउन ढाकछोपको चटारो रातदिन चलिरहेको छ।

nullपाहुना आउन सुरु हुनै लाग्दा स्वागत सत्कारमा कुनै कमी हुन दिइएको छैन। तीन सय पाहुनाका लागि गतिला होटलका कोठाहरू ‘बुक’ भएका छन्। विवाहको औपचारिक समारोह नै ९ दिनसम्म चल्ने भएकाले विदेशी पाहुनाले सहर खचाखच हुनेछ। एक व्यवस्थापकले सुनाए, ‘पाहुना हरेक पटक बाहिर निस्कँदा तौलिया परिवर्तन गरिनेछ। हरेक कोठा दैनिक नयाँ जस्तै रहनेछन्।’ यो व्यवस्थापककै लागि नौलो लागेर हो उनी दोहोर्‍याइदोहोर्‍याई आदेशको कुरा होटेलवालालाई सम्झाइरहेका छन्। हिप्पीहरूको विस्तारै बाहुल्य बढ्दै गरेको राजधानीका प्रमुख स्थानहरू फ्रिक स्ट्रिट झोंछे तथा स्वयम्भू क्षेत्रमा तीन महिना अगाडिदेखि नै ह्यासिस बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ। हिप्पीहरूलाई देशबाहिर जान लगाइएको छ। हजारौं पाहुनाले भरिने विवाहमा सयौंको संख्यामा पुरोहित रहनेछन्।

विवाहमा ५० मुलुकका राष्ट्रप्रमुखलाई आमन्त्रण गरिएको छ। जसमा लाओसका राजा, भारतका राष्ट्रपति र सेइलोन (हाल श्रीलंका)का गभर्नर जेनरल उपस्थित हुनेछन्। अन्यले प्रतिनिधि पठाउने सूचना दरबारमा पठाइसकेका छन्। अन्य मुलुकका राजपरिवारको पनि उपस्थिति हुने भएकाले उपत्यकामा विदेशीको जनसंख्याले स्थानीय ओझेलमा देखिनेछन्। अफगानिस्तानले युवराज पठाउने र बेलायतले युवराज रिचर्डलाई पठाउने खबर बेहुलाका बुवा महेन्द्रले मात्रै होइन, वीरेन्द्रले पनि पाए। किनकि रिचर्ड र वीरेन्द्रको भेट एटनमा भएको थियो। रिचर्ड नेपाली समकक्षीको बिहेमा यसपटक आफैं आउँदैछन्। अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सट्टामा ओहायोका सिनेटर विलियम बी र उनकी पत्नी सरिक हुने भएका छन्। अमेरिकाले सोभियत युनियन र चीनले कसलाई पठाउँछ भनेर साताव्यापी प्रतीक्षा गरेपछि उसले आफ्नो प्रतिनिधि घोषणा गरेको थियो। रुसले विदेश मन्त्रालयका दक्षिण एसियाली प्रमुख ए–ए फोमिनलाई पठाउने निश्चित गरेको छ। यता चीनले प्रधानमन्त्री झोउ इनलाई पठाउने भने पनि त्यसको सम्भावना न्यून छ। यसलाई विवाह समारोहमात्रै होइन, शक्ति देशको आँखा जुध्ने स्थानका रूपमा लिएका छन्। विवाहमा पुग्दा आफैंलाई असहज नहोस् भनेर प्रतिनिधि पठाउने विषयमा सचेत देखिन्छन् ती मुलुकहरू।

बजेटको अंक जस्तो खर्चिलो बिहे

राजाका छोराको बिहे खर्च सरकारी नै हो। बिहे चल्ने दिन गन्दै बिहे उतार्ने खर्चको रकमलाई लिएर चोकचोकमा निकै अड्कलबाजी भइरहेका छन्। विवाहमा १ करोड ६० लाख डलरसम्म खर्च हुने अनुमान भइरहेका छन्। नेपालको कुल राष्ट्रिय बजेट नै ६ करोड ६० लाख अमेरिकी डलर हो। त्यसैले बिहेको खर्च रकम बढाचढाइ गरिएको हुन सक्छ। नागरिकलाई दैनिकी टार्न हम्मे छ, जब कि विदेशी मिठाईको बासना बिहेको दिनभन्दा अघि नै चलेको छ। यस विवाहले १ करोड १० लाख (नेपालको जनसंख्या) मानिसलाई कुनै उत्साह नथपे पनि केहीले भने रोजगारी पाएका छन्। काठमाडौंको
सिंगार र नयाँ दरबारका साथै विवाह समारोहको तयारीका लागि मजदुरले काम पाएका छन्। केही दिन मुख फेर्ने मौका पाएका छन्।

कम छैन मनोरञ्जन

साँच्चै विवाह त काठमाडौं उपत्यकाका युवा र बालबालिकालाई लागेको देखिन्छ। विवाह समारोह नजिकिँदै जाँदा सयौं नेपाली बालबालिका तथा वयष्कहरू हात्ती वरिपरि झुम्मिएको दृश्य देख्न सकिन्छ। विवाह समारोहमा वीरेन्द्र हात्ती चढेर जानेछन्। त्यसको पूर्वाभ्यास हाल भइरहेको छ। पूर्वअभ्यास स्थल मेला महोत्सवस्थल जस्तै देखिन्छ। गाईभैंसी र बाख्रासँग वनपाखा दौडने युवा र बालबालिका विदेशी सेता घोडा र हात्तीको साथी बनेका छन्, केही दिनका लागि।

nullनेपालमा विवाहको समय र संस्कार ज्योतिषले निर्धारण गरेबमोजिम हुनेछ। नेपाली जनजीवनमा ज्योतिषको ठूलो प्रभाव छ। सामान्यतया दुलाहा र दुलहीको कुण्डली नमिलेको अवस्थामा विवाह हुँदैन। तर, विवाह गर्नै परेको अवस्थामा ज्योतिषहरूले चलाखी गरेर उपाय निकाल्छन्। यो चलाखी शाहवंश र राणा परिवारमा नचले राजनीतिक सम्बन्ध टुंगिएको अवस्थामा सामाजिक सम्बन्ध पनि धर्मराउने चिन्ता राणा परिवारलाई जत्तिकै ज्योतिषलाई पनि छ। सबै कुरा मिलाउन माहिर ज्योतिष यो मामलामा चुँडिएका ग्रह जोड्न पछि परेका छैनन्। किनकि राजा–रानी शाह–राणा नै हुनु छ। आफैंले सत्ता नचलाए पनि छोरीको हात दिएर चलखेलमा लागिरहनु छ, हरेक शाहवंशीय शासनमा।
अनुवाद : रविन भट्टराई


Last Updated on: November 4th, 2023 at 10:53 pm

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया