
सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरकी विद्यार्थी थिइन्, दैलेखकी एलिना भण्डारी । उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो ।
चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) मा सिफारिस भएकी थिइन् । पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन् । राति ११ बजेर ४७ मिनेटमा भण्डारीले आफ्ना भाइसँगै सदाका लागि संसार छाडेकी छन् ।
दैलेखको दुल्लु नगरपालिका–६, पुसाकोटकी २२ वर्षीया भण्डारीले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा ज्यान गुमाइन् । उनका साथमा उनका भाइ पनि सँगै थिए ।
उनीहरूको नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा मृत्यु भएको हो । ७ कात्तिकमा दसैँ मान्न घर पुगेकी उनी चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन् । उनले दसैँ–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् ।
एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक हुन् । उनका सहोदर बुवाको मृत्यु भएपछि एलिनाकी आमाले दोस्रो विवाह गरेकी थिइन् । पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले बताए ।