
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले सपना साकार भएको प्रतिक्रिया जनाएका छन्। नेपाल सन् २०२४ मा हुने विश्वकपका लागि छनोट भएसंगै लामिछानेले सपना साकार भएको प्रतिक्रिया जनाएका हुन्।
लामिछानेले शनिबार सामाजिक संजाल मार्फत नेपाल विश्वकपका लागि छनोट भएको र त्यसमा सबै नेपालीले गर्व गर्नुपर्ने बताएका छन्। कडा परिश्रमको फल मिलेको सन्दीपको भनाई छ।
नेपाल विश्वकपका लागि छनोट हुनुलाई सन्दीपले सुन्दर यात्राको रुपमा लिएका छन्। नेपाली क्रिकेट टोलीका खेलाडीहरुले उत्कृष्ट चरित्र प्रदर्शन गरेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्। त्यस्तै उनले दयालु साथ र मायाको लागि सबैलाई धन्यवाद पनि दिएका छन्।
“सपनाहरू साकार हुन्छन्। कडा परिश्रमको फल मिल्छ। सम्पूर्ण नेपाली जनताको लागि ठूलो गौरवको दिन । अहिले सम्म कति सुन्दर रह्यो यात्रा। केटाहरूको उत्कृष्ट चरित्रको लागि गर्व छ। एकताकै कारण यो सम्भव भयो। दयालु साथ र माया को लागी सबैलाई धन्यवाद। नेपाल – ICC T-20 विश्वकप 2024 मा।”,सन्दीपले सामाजिक संजालमा लेखेका छन्।
शुक्रबार विश्वकप छनोटको सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको थियो। युएईलाई कम रनमै रोक्न लामिछानेले महत्वपूर्ण भूमिका निभाएका थिए। उनले युएईका महत्वपूर्ण दुई विकेट लिएका थिए।