शनिबार १६ मंसिर २०८०

गत १ माघमा यतिको विमान दुर्घटना भएको स्थल नजिकै सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ ।

पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार गरिएको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।

उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

घटना विवरणः

सुदीप पर्वतबाट पोखरा घुम्न आएको बुझिएको छ । उनी पोखरा १५ कै ऋषिमार्गमा दाइको घरमा बसेका छन् । घटनाबारे जानकारका अनुसार सुदीप आज बेलुकी लेकसाइड गएका थिए । उनी घर आउन ढिला भएपछि दाइले ढिलो हिँड्नुहुन्न भनेर हप्काएका थिए । त्यसपछि रिसाएर सुदीपले घर छाडे । पछिपछि दाइ गएका थिए । शुक्लेश्वर महादेव मन्दिर प्रांगण पुगेपछि एक्कासी सुदीप सेती खोँचबाट खसेका हुन् ।

यसअघि, विमान दुर्घटना भएको ठाउँ नजिकै धाजा फाँटेको ठाउँबाट पोखरा नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली खस्न पुगी मृत्यु भएको थियो । गत वैशाख २ गते दिउँसो दुई साथीसहित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।

२ घण्टापछि अचेत अवस्थामा उद्धार गरिएकी उनको मृत्यु भएको थियो । सेती खोँचमा खसेर वर्षेनीजसो घटना भइरहेका छन् ।गण्डक न्यूजका लागि रन्जन अधिकारीले समाचार लेख्नुभएको छ ।


Last Updated on: November 5th, 2023 at 9:02 am

२०७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया