शनिबार १६ मंसिर २०८०

शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि दिदीभाइको निधन भएको छ । भूकम्पमा परी दैलेख, दुल्लु नगरपालिका—६, छिउडीपुसाकोटका २५ वर्षीया एलिना भण्डारी र १० वर्षीय प्रज्ज्वल शाहीको पनि मृत्यु भएको हो।

मृतक एलिना नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) को रुपमा कार्यरत थिइन् । उनले गत वर्षमात्रै संघीय सरकार अन्तर्गतको अमिनमा नाम निकालेकी थिइन्। उनले पहिलो प्रयासमै अमिनमा नाम निकालेकी हुन्।

यही कार्त्तिक ७ गते भएको दसैँमा दैलेख घर आएकी उनी तिहार जाजरकोटमै मनाउने गरेर भाइलाई साथमा लगेकी थिइन्। नापि कार्यालय जाजरकोटको सरकारी क्वार्टरमा सुतेको बेला भूकम्प जाँदा एलिनासँगै उनका भाई प्रज्वल शाहीको पनि मृत्यु भएको छ।

परिवार स्रोतका अनुसार ७ कात्तिकमा दसैँ मान्न घर रहेकी एलिना विगत चार दिनअघिमात्र भाइसँगै जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन्।

सुर्खेतमा पढ्दै गरेका एलिनाका भाइ प्रज्वल दसैँ–तिहार बिदामा दैलेख घरमा गएका थिए। बिदामा बसेका भाइलाई एलिनाले तिहार उतै मनाउने भरेर आफूसँगै जाजरकोट लगेकी थिइन् । एलिना भण्डारी र प्रज्ज्वल शाही एकै घरका दिदीभाइ भने होइनन्। उनीहरू फरक–फरक बाबुका तर एकै आमाका सन्तान हुन्।

एलिनाको बुवाको उनी दुई वर्षको हुँदा नै निधन भइसकेको छ। बुवाको निधनपछि आमाले दोस्रो बिहे गरेकी थिइन । भाइ प्रज्ज्वल पनि सुर्खेतमा बसेर पढ्दै आएका थिए। दसैं–तिहार बिदामा हेरिदिने मानिस नभएकाले एलिनाले आफू पोस्टिङ भएकै ठाउँ अर्थात् जाजरकोट खलंगा लगेकी हुन्।

घरबाट आउजाउ गर्न गाह्रो भएकाले उनको बसोबास नापी खलंगामा नै रहेको थियो। एलिना सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरमा पढ्दै थिइन् । आफन्तका अनुसार एलिनाको इन्जिनियर बन्ने सपना थियो। उनको त्यो सपना पनि पूरा हुनै लागेको थियो ।

किनभने उनको इन्जिनियरिङ पाँचौँ सेमेस्टर पनि सकिनै लागेको थियो । तर, उनको सपना अधुरै भयो ।


Last Updated on: November 5th, 2023 at 9:20 am

३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया