
नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्ने भएको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा नेपालले कालो पट्टी बाँधेर खेल्न लागेको हो ।
नेपालले आजको खेलबाट बिक्री हुने ५० प्रतिशत टिकट मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरि सकेको छ ।
नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेल्दैछ ।
टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मौका दिएको छ ।
टी २० विश्वकप छनोटअन्तर्गत आइतबार नेपाल र ओमन उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भिड्दैछन्। केहीबेरमा नै कीर्तिपुरमा खेल सुरु हुँदैछ।
आज हुने खेलमा एकहातले बल क्याच गरे २० हजार रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानले सो क्याच ‘क्लिन’ हुनुपर्नेसमेत जनाएको छ।
विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई र ओमनले बहराइनलाई हराएर दुवै टोलीले विश्वकपमा स्थान पक्का गरिसेका छन्। आज दुवै टोली च्याम्पियन बन्ने होडमा हुनेछन्।
यी दुई टोली समूह चरणमा पनि एकसाथ थिए। समूह ‘ए’ मा ओमन, नेपाल, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरेका थिए। जसमा ओमन विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए।
खेलअघि कीर्तिपुरमा दर्शकको उपस्थिति बाक्लो छ।