
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ एमाले प्रवेश गरेका छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन्। तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए।
पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गरेका हुन्। पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको तामाङको आरोप छ।
मेयरमा दोहोरिन नपाएका तामाङ माओवादी केन्द्रसँग असन्तुष्ट थिए। आफू पेलिएको भन्दै सेलो गीत गाएको भिडियो बनाएर पार्टी परित्यागको घोषणा गरेका थिए। यस्तै डा. बाबुराम भट्टराई केही साताअघि खोलेको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी विभाजित भएपछि बाबुरामको समाजवादीतिर लागेका पूर्वमन्त्री चौधरी सोमबार एमालेमा प्रवेश गरेका हुन्। उनलाई जसपाबाट छाडेपछि बनाइएको नेपाल समाजवादीको संस्थापक उपाध्यक्ष बनाइएको थियो।
उनी २०५६ सालमा एमालेबाटै कपिलवस्तु २ देखि प्रतिनिधिसभामा विजयी भएका थिए। तर उनी २०६३ पछिको मधेस आन्दोलनका क्रममा महन्थ ठाकुर नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टीमा लागेका थिए। तर उनी लामो समयपछि एमालेमै फर्किए।
चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । सोही कार्यक्रममा दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।चौधरीसहितलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका छन्।