
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि लागेका आरोपको फेस गर्न तयार रहेको बताएका छन्।
प्रसाईंले आफूबाट कुनै गैरकानुनी काम नभएको दाबी गर्छन्। उनले भने, ‘मैले कुनै गैरकानुनी काम गरेको छैन। बैंकलाई बुझाउनुपर्ने ब्याज नियमति बुझाउँदै आएको छु। ममाथि लागेको आरोपको कानुनी रूपमा फेस गर्न तयार छु।’
उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र केही विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।
आफूले बैंक र सहकारीका कारण उठिबास हुन लागेका पीडितको पक्षमा बोले पनि मिडियाले गलत ढंगले प्रस्तुत गरेको उनको गुनासो छ। ‘मप्रति मिडियाले लेखेको कुरामा आपत्ति छ। मैले उठिबास हुन लागेका व्यक्तिको पक्षमा बोलेको हुँ’, प्रसाईंले भने।
उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेकोसमेत उल्लेख गरे।
प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुँदैछन्।
उनलाई नियन्त्रणमा लिन राजनीतिक दबाब परिरहेका बेला प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा बोलाएको प्रहरी स्रोतको दाबी छ।
प्रसाईंले आफू प्रहरीमा उजुरी परेर भन्दा पनि आग्रहमा जान लागेको बताए। उनले भने, ‘म उहाँहरूको आग्रहमा जान लागेको हुँ।’