
लोपोन्मुख फिरन्त जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षकाे उमेरमा शाहीको निधन भएको हो ।
शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो ।
नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो । १ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेकाे छ । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ । उनीहरू पाँच दिन अघिमात्रै बसाइ सरेका थिए ।