Ultimate magazine theme for WordPress.

लिलामी नहुँदा कवाडी बन्दै सवारी साधन

65

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टामा लिलामी प्रक्रियाअघि नबढ्दा सवारी साधन थन्किएका छन्। भन्सारले तीन वर्षदेखि सवारी लिलामी गरेको छैन, जसका कारण सवारी थोत्रिने अवस्थामा पुगेका छन्।

विभिन्न मुद्दामा जफत गरी लिलाम गर्नुपर्ने हुन्छ। तर, भन्सार कार्यालयले लिलामीको प्रक्रिया अघि नबढाउँदा कडोरौँ रुपैयाँ मूल्यका सवारी कवाडी बन्ने अवस्थामा पुगेका हुन्, जसका कारण करोडौँ रुपैयाँ राजस्व गुम्ने खतरा छ । सवारी साधन थोत्रिँदा त्यसको लिलामीका लागि मूल्यांकन पनि घट्दै जान्छ ।

११० वटाभन्दा बढी मोटरसाइकल र दुई दर्जनभन्दा बढी चार पाङ्ग्रे सवारी साधन मेची भन्सार कार्यालय परिसरमा थुपारिएका छन् । यसरी राखिएका कतिपय सवारी साधन धुलोका कारण चिन्नै नसकिने अवस्थामा छन् भने कतिपयको पार्टपूर्जासमेत थोत्रा भएको देख्न सकिन्छ ।

विभिन्न कसुरमा पक्राउ परी भन्सारले बुझेका यी सवारी साधन निश्चित प्रक्रिया पूरा गरेर लिलाम बिक्री प्रक्रिया अघि बढाउन नसकिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । भन्सारले प्रक्रिया पूरा गर्न नसक्दा तीन वर्षदेखि सवारी लिलामी हुन सकेको छैन ।

भन्सार प्रमुख विश्वकर्मा भने लिलामी प्रक्रिया अघि बढाउन नसक्नु को’रोना संक्रमणको कारण ठान्छन् । ‘लिलामीका लागि तयारी गर्दै थियौँ तर कोरोना महामारीले रोकिदियो । अब चाँडै नै प्रक्रिया सुरु गर्दैछौँ’, उनी भन्छन् ।महामारीपछि लकडाउन खुलेको महिनौँ बितिसकेको छ ।

तर, अहिलेसम्म लिलामी प्रक्रिया अघि बढ्न सकेको छैन । यसका कारण सवारीको मूल्यमा ह्रास आउने र राजस्व संकलनमा घाटा लाग्ने भन्सार प्रमुख आफैँ स्वीकार गर्छन् । ‘लिलामी प्रक्रियामा केही ढिलाइ हुँदा मूल्यमा ह्रास आउने त स्वाभाविक छ’, उनले भने, ‘सकेसम्म हामीले सवारीलाई सुरक्षित गरेर राखेका छौँ ।’

मेची भन्सारमा सवारीहरू धुलाम्मे छन् । कतिपय सवारी कबाडी भएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । भन्सारले सवारी लिलामी प्रक्रिया अघि नबढाउँदा सवारीको मूल्यांकनमा क्रमशः ह्रास आउँदै छ नै । त्यससँगै सूचना दिने सूचक पनि कमिसनको पर्खाइमा छ ।

सूचना दिने व्यक्तिले भन्सारबाट सवारी लिलामी भएपछि कमिसन पाउँछ, जसले सूचनाको बलियो स्रोत बनाउन सकिने तर्क छ प्रहरीको । तर, लिलामी प्रक्रिया अघि नबढ्दा सूचकले कमिसन पाउन सकेको छैन । यसका कारण सूचना दिनेको अभाव हुन सक्ने प्रहरीको अनुमान छ।

भन्सारसँगै डिभिजन वन कार्यालय भद्रपुर, सबडिभिजन वन कार्यालय सुरुङ्गा, जिल्ला अदालमा सवारी थन्किएका छन् । लिलामी नहुँदा ती सवारी थोत्रा बनेका छन् । यस्तै, वडा प्रहरीदेखि इलाका हुँदै जिल्ला प्रहरी कार्यालयमा पनि उसै गरी सवारी साधन थुप्रिएका छन्।

झन्झटिलो कानुनी प्रक्रियाका कारण अधिकांश कार्यालयले वर्षौंदेखि लिलामी गर्न सकेका छैनन् । यी कार्यालयमा रहेका सवारी संरक्षण अभावमा कामै नलाग्ने अवस्थामा पुगेका छन् । नियन्त्रणमा लिँदा राम्रो रहेका सवारी सरकारी कार्यालयमा राख्ने ठाउँको अभावमा घामपानीले बिग्रिएका छन् ।

समयमा लिलामी प्रक्रिया अघि नबढ्दा क्रमशः यिनीहरूको मूल्यंकन घट्दै गएको छ । कतिपय सवारी राखिएको ठाउँमै खिया लागिरहेको छ । कतिपय सवारीको पार्ट पूर्जासमेत चोरीको छ । डिभिजन वन कार्यालय झापामा राखिएका सवारी लामो समयसम्म लिलामी नहुँदा कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

सवारी राखेको ठाउँनै झाडी जस्तै बनेको छ ।प्रक्रिया मिचेर आफूहरूले लिलामी गर्न नसक्ने डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी ओमनाथ भट्टराई बताउँछन् । ‘प्रक्रिया झन्झटिलो छ । समयमा लिलामी हुन नसक्दा राखेको ठाउँमा झारले पुरेको छ।

खिया लागेर नजिनिने अवस्थामा पनि पुगेको छ’, उनले भने, ‘धेरै पहिला आएका सवारी साधन त कामै नलाग्ने अवस्थामा पुगेका छन् । अब कतिपय सवारी त कबाडीमै बेच्न पनि मुस्किल हुने अवस्थामा पुगेका छन्।’