Ultimate magazine theme for WordPress.

यी पाइलट, जसले जोगाए काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएर ७३ यात्रुसहित चालक दलका सदस्यको ज्यान

311

आज विहान विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाउनुभएको थियो । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आकस्मिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताउनुभयो । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो ।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइ जोखिमपूर्ण अवस्थामा समेत शेर्पाले काठमाडौंमा सुरक्षित अवतरण गराउनुभयो । उक्त विमानमा तीन बच्चासहित ७३ यात्रु थिए । यसकारण पनि आज ७३ यात्रुको ज्यान जोगाउने भगवान् बन्नुभएको पाइलट हो शेर्पा ।

यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन । तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन् । उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो ।

विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए । उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन ।क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो । नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो ।

तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मार्‍यो अनि मन चिसो भयो ।’ उनका अनुसार काठमाडौँको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए ।कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए ।यात्रुहरुमा रुवाबासी चलेपछि एयरहोस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए ।

तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुलृे बताए । उनले भने, ‘उहाँहरु (एयरहोस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो ।इन्धन सक्ने प्रयास भएको र इन्धन सकिएपछि ल्याण्ड गर्ने बताउनु हुन्थ्यो । उनीहरुको आँखा पनि आँशु थियो ।’काठमाडौँको आकाशमाथि विमानलले फन्को मार्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए ।

त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए । यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए ।विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झर्‍यो ।

विमान सहजरुपमा अवतरण भयो ।बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ । यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन् ।भिडियो