बुधबार २० मंसिर २०८०

काठमाडौं । पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जाल र तारा बराल एक अर्काका परिपुरक जस्तै देखिन्छन् । नाम होस् या बदनाम अहिलेको सामाजिक सञ्जालले तारा बराललाई पछ्याउन छोडेको छैन । देशमा हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउन तथा पीडितहरूलाई सडक र सामाजिक सञ्जालबाटै न्याय दिलाउने शैलीमा प्रस्तुत हुने उनै बराल यतिबेला भने आफैं अन्यायमा परेको शैलीमा सामाजिक सञ्जालमा एकपछि अर्को पोस्ट गरिरहेकी छिन् ।

पछिल्ला केही दिनदेखि स्वघोषित अभियन्ता बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दलाई जोडेर केही अनलाइन मिडियामा दुई जनाको लभ स्टोरीबारे समाचारहरुको ओइरो लागेको थियो । यसैबीचमा एक हुल यूट्युबर र तारा बराल तथा पूर्व एआईजी चन्दबिच सिनामंगलको एक रेस्टुरेन्टमा हात हालाहालको समेत अवस्था सिर्जना भएको थियो भने एकजना यूट्युवरलाई त तारा बरालले अभद्र व्यवहारसमेत गरेकी थिइन । त्यसको एक/दुई दिनमा नै तारा बरालविरुद्ध बलराम बोगटीले जिल्ला अदालत काठमाडांैमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।

तारा बराल र पूर्व एआईजी चन्द एक आपसमा प्रेमी/प्रेमीका थिए वा थिएनन् त्यो स्पष्ट छैन । तर, कात्तिक १६ गते बुधबार पूर्व एआईजी चन्दका साथी सञ्जय बर्माको घरमा बराल र पूर्व एआइजी चन्दबिच विवाह गर्ने सहमतिसहितको कागज सार्वजनिक भएको थियो । उक्त विवाह गर्ने सहमतिको कागजलाई कात्तिक १७ गते वडामा लगेर प्रमाणित गर्ने सहमति भएको भएपनि १७ गते साँझदेखि नै पूर्व एआईजी चन्द सम्पर्क बिहीन बनेको तारा बरालले जानकारी दिइन ।

पूर्व एआईजी चन्दलाई सम्पर्क गर्ने पटक–पटकको प्रयास भने सफल हुन सकेन । पूर्व एआईजी चन्दकै फेसबुक स्टाटसलाई आधार मान्ने हो भने उनी देश बाहिर रहेको जस्तो देखाउन खोजेका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर बाहिरिएको पुष्टि नभएपनि उनको पारिवारिक स्रोतले १७ गते मध्यराति नै उनी अमेरिका प्रस्थान गरेको दाबी गरेको छ ।

बराल र चन्दविचको सहमतिको कागजलाई बरालले स्वीकार गरेपनि पूर्व एआईजी चन्दले भने सामाजिक संजालमार्फत नै अस्वीकार गरेका छन् । उक्त सहमतिपत्र सञ्जय वर्मा, तारा बराल र एक वकिलले लेखेको जिकिर गरेका छन् ।

बराल र आफूबिच भएको भनिएको विवाह गर्ने उक्त सहमति पत्रको कानुनी हैसियत नै नभएको टिप्पणी गर्नुले बरालसँगको विवाह गर्ने भनिएको उक्त सहमति वैध नभएको चन्दको दाबी छ । छोराछोरीको विवाह गर्ने बेला भएको भन्दै विवाह दर्ता त पालिका, स्थानीय प्रशासनमा मात्रै हुने भन्दै बरालसँग विवाह गर्ने सहमति केही नभएको उनको दाबी छ ।

बराल र चन्दबीच एक आपसमा विवाह गर्ने सहमति भएको २४ घण्टासमेत बित्न नपाउँदै सामाजिक सञ्जालबाटै आरोप प्रत्यारोप सुरु भैसकेको छ । उक्त सहमतिलाई अस्विकार गर्दै कानुनी चुनौती नै पेश गरेका चन्दले त्यसपछि उक्त सहमतिको विरुद्धमा लगातार पोष्ट गरिरहेका छन् भने ताराले उक्त सहमतिको प्रतिरक्षा गरिरहेकी छिन् ।

‘सिनामंगलमा रेस्टुरेन्टमा भेट्न बोलाउने तथा विवाहको सहमति पत्र समेत आफैंले लेख्न’ लगाएको बरालको भनाइ छ । सिनामंगलमै आफूले बराललाई विवाह गर्ने घोषणा चन्दले नै गरेको बरालको भनाइ छ ।

१०८ जना पण्डित बोलाएर विवाह गर्ने योजना बनाएका चन्द कसैको षड्यन्त्रको शिकार बनेर सम्पर्क बिहीन बनेको बरालको अनुमान छ । बराल र आफूबिच भएको विवाहको सहमति पत्रको कानुनी वैद्यतालाई चुनौती दिएका चन्दले उक्त सहमति पत्रमा हस्ताक्षर गरेको कुरालाई अस्वीकार गर्न नसक्नुले भने चन्दको नियतमाथि प्रश्न उठेको छ ।


Last Updated on: November 6th, 2023 at 5:12 pm

८१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया