सोमबार १८ मंसिर २०८०

काठमाडौँ । काठमाडौँको सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकमा शनिबार मृत अवस्थामा फेला परेका थिए चन्द्रागिरि घर भएका सुमन कार्की । २६ वर्षीय सुमन नेपाली सेनाको लेस नायक हुन् ।

जंगी अड्डास्थित गणेश दल गणमा कार्यरत कार्कीको ‘लडेर मृत्यु’ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । घटनास्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरामा सुमन हिँड्दै गरेको अवस्थामा लडेको देखिएको छ । घोप्टो परेको अवस्थामा उनी लडेको क्यामरामा देखिएको र त्यही अवस्थामा शव फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

सुमनको मोबाइल घटनास्थलमा भेटिएको छैन । सुमन मृत अवस्थामा भेटिएको स्थानमा बिजुलीको पोलमा एउटा कागज टाँसेको भेटिएको छ । कागजमा लेखिएको छ–‘विनोद रेष्ट इन पिस ।’

सो नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । ढुंगेलले भने,‘मृतको नाम र नोटमा उल्लेखित नाम फरक छ, हामी त्यसबारे अनुसन्धान गरिरहेका छौँ ।’

आफन्तकोमा आयोजित भोजमा सहभागी भएर सुमन काठमाडौँ महानगरपालिका–१३ स्थित दरबार बैंक्वेट अगाडि हिँड्दै आएको अनुसन्धानबाट थाहा भएको छ । त्यसदिन उनले मापसे गरेको आफन्तहरूले प्रहरीलाई बताएका छन् । ‘घटनास्थलमा साँझ ८ बजे उनी हल्लिँदै हिँडेको र लडेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘अहिलेसम्मको अनुसन्धानमा घटना शंकास्पद देखिएको छैन ।’

प्राविधिक अनुसन्धानका क्रममा शुक्रबार राति ८ देखि ९ बजेको बीचमा उनी नजिकै रहेको दरबार बैंक्वैटबाट बाहिर निस्किएर आफैं लडेको देखिएको थियो । सोही अवस्थामा उनी बिहान भेटिएका थिए । प्रहरीका अनुसार लड्नुअघि सुमनले बैक्वेटमा मदिरा सेवन गरेका थिए ।

सीसीटीभी फुटेज हेर्दा ९ बजेर ४२ मिनेटमा दुई जना व्यक्तिले सुमनसँग रहेको मोबाइल लिएर गएको देखिएको थियो । उक्त मोबाइल राति १० बजेर ५० मिनेटमा जैसीदेवलबाट स्वीच अफ भएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

‘प्रारम्भिक रुपमा हेर्दा कार्कीको भवितव्य भएर मृत्यु भएको देखिन्छ । उनी मदिरा सेवन गरेपछि नियन्त्रण गुमाएर आफैं लडेको देखिएको छ’, एक अनुसन्धान अधिकारीले भने ।

प्रहरीले मोबाइल लैजानेको खोजी गरिरहेको छ । केही व्यक्ति अनुसन्धानको दायरामा समेत रहेको बुझिएको छ । बिजुलीको पोलमा टाँसिएको उक्त कागज घटनासँग सम्बन्धित रहे-नरहेकोबारे प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन ।

‘मृतकको नाम विनोद होइन । मोबाइल लिएर गएका व्यक्ति पनि कागज टाँसिएको दिशातर्फ गएको देखिँदैन । तर, कागजमा लेखिएको अक्षर हेर्दा त्यति पुरानो जस्तो पनि देखिँदैन’, अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीका अनुसार कागज टाँसिएको ठाउँमा रातभर मानिसहरुको गतिविधि पनि देखिएको छैन ।


Last Updated on: November 6th, 2023 at 8:59 pm

२०८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया