बुधबार २० मंसिर २०८०

जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् ।

शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ ।’

छोराछोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनी वैदेशिक रोजगारीका लागि गएका थिए । तर, शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए । त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृत्यु भएको थियो ।

उदय नआउञ्जेल छरछिमेक र आफन्तले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै छाडेका थिए । उनी सोमबार आउने भएसँगै शव बुझेर ल्याएको छिमेकी ३८ वर्षीय सज्जनराज विकले बताए । उनले भने, ‘उहाँ नआएसम्म जिम्मा लिने कुरै भएन, सोमबार आइपुग्ने भनेपछि घरमा शव ल्याएका थियौं ।’

सोमबार अपराह्न झण्डै १ बजेतिर उनी घरभन्दा तलतिर रहेको सडकसम्म आइपुगेका थिए । एउटा सुटकेश बोकेर आएका उनी उकालो चढ्न थालेपछि छिमेकीहरु आएर सामान बोकिदिए । पहिले-पहिले घरमा पुग्दा बुबा आउने वित्तिकै झोला हेर्ने बच्चाहरुको शव यसपटक लस्करै राखिएका थिए । श्रीमतीसहित ६ जनाको शव देख्दा उनी थामिन सकेनन् ।

दाहसंस्कारका लागि घाटसम्म बोकेर लैजानका लागि कोही बाँसका घारा बनाइरहेका थिए, कोही दाउरा संकलन गरिरहेका थिए । नजिक पुगेपछि उदय पुर्पुरोमा हात राखेर थचक्क बसे । केही बोल्न सकेनन् ।

‘दैव पनि कस्तो, कोही बचेनन्’, उदयसँगै टुक्रुक्क बसेकी छिमेकी ४० वर्षीया लक्ष्मी सुनुवारले भनिन्, ‘गाउँमा कोही नबितेका घरै रहेनन् ।’

छिमेकी सज्जनराज विकका अनुसार, उदयले उज्ज्वल र अञ्जलीलाई बोर्डिङ स्कुल भर्ना गराएका थिए । ‘उज्ज्वल नर्सरीमा पढ्थ्यो, अञ्जली एलकेजीमा पढ्दै थिइन्’, उनले सुनाए, ‘शर्मिला चाहिँ अपाङ्ग थिइन्, उनलाई यहीँको सरकारी विद्यालय भर्ना गराइएको थियो ।’

उनको घरमा ६ जनाको मृत्यु भएपछि ५ जनाको मात्र अन्त्येष्टिको तयारी हुँदै थियो । भाञ्जी ८ वर्षीया विष्णु तिरुवाकी आमा रोजगारीका लागि कवेत गएकी थिइन् । उनलाई आउन समय लाग्ने भएकाले विष्णुको शव भने अस्पतालबाट घर ल्याइएको छैन । ‘पोष्टमार्टम त भइसकेको थियो, तर आमा आउञ्जेल राख्ने भन्ने भएपछि अस्पतालमै छ’, विकले भने, ‘बुबा पनि मजदुरी गर्न भारत गएका थिए, अहिले आइसकेका छन् ।’

आमाले गाउँमा आइपरेको विपद्बारे जानकारी दिँदै कम्पनीमा विदा मागिसकेको सुनाउँदै उनले भने, ‘उहाँ पनि चाँडै आउनुहुन्छ होला, अनि अन्त्येष्टि हुन्छ ।’

मृतक निरुता विकका बुबा, जानुकाका देवर भने संयोगले शुक्रबार घरमा थिएनन् । आफन्त करिब ६० वर्षका तेजाब कामीको कालगतीले मृत्यु भएपछि अन्त्येष्टिका लागि उनी गएका थिए । त्यसपछि शुक्रबार उनी तेजाबकै घरमा बसेका थिए । ‘मलामी गएर उहाँकै घरमा सहयोगका लागि भनेर बस्नुभयो, तर आफ्नो घरमा यस्तो भयो’, सोमबार दिउँसो भेटिएका सज्जनले भने ।

दाहसंस्कारका लागि भेरी नदी किनारमा लैजाने तयारी थियो । ठूलालाई जलाइँदै थियो भने सानालाई गाड्न खाडल खनिएको थियो । घाटमा उज्ज्वललाई छाड्ने बेला बुबा उदय फेरि भक्कानिए, ‘भविष्य उज्ज्वल बनाउँला भनेर नामै उज्ज्वल राखेको थिएँ, मेरो भविष्य नै अन्धकार बनाएर गयौं ।’

गाड्न लाग्दा उनी ४ वर्षका छोरा उज्ज्वलको शवलाई अंगालो हालेर ग्वाँग्वाँ रुन थाले । नजिकै भएकाहरु पनि भक्कानिए । उनको परिवारका सदस्यहरुको दाहसंस्कारमा आसपासका गाउँका समेत गरेर झण्डै ३ सय बढी सहभागी थिए ।

छिमेकामा पनि मारिए ६ जना

शुक्रबार राति भूकम्प गएलगत्तै उद्धारका लागि समेत पुगेका सज्जनका अनुसार, घरमा बाहिर पट्टीबाट हेर्दा क्षति भए जस्तो नदेखिएपछि भित्र सबै ढुंगा झरिसकेका थिए ।

‘छेउ पट्टीको कोठामा दुई जनाको मृत्यु भइसकेको थियो, त्यहीँबाट ३ जनालाई भने जीवितै उद्धार गर्यौं’, उनले भने, ‘आमा हस्तकुमारी विक, नातिना विक्रम विक र रविना विक अहिले डिस्चार्ज भइसकेका छन् ।’ तिनै जनाको टाउकोमा चोट लागेको थियो, अहिले उपचारपछि फर्किएका छन् ।

बाहिर पुग्दासम्म ‘अइया…, अइया…’ भनेको आवाज आफूले सुनेको सज्जनकुमार बताउँछन् । भन्छन्, ‘तर, उद्धार गर्दासम्म अरु कोही बाँकी रहेका थिएनन् ।’ यही गाउँबाट ३ सय मिटर तल रहेको सडक छेउमा पनि शुक्रबार एकैघरका ६ जना भूकम्पमा परेर बितेका थिए ।

राउत गाउँमा दुई तलाको ढुंगा र माटोको घरमा पद्यमी मल्ल, शंकर मल्लसहित ७ वर्षीय विनय परियार, ५ वर्षीया सम्झना परियार, ९ वर्षीय सुजन रावत र उनका भाइ २ वर्षका सुदाम रावतको मृत्यु भएको थियो ।

आफन्त ५० वर्षीया नुन्नु मल्ल रावतका अनुसार, सुजन र सुदाम ठूलोआमाको घरमा गएका थिए । ‘तलतिर घर थियो, आइरहन्थेँ’, उनले भनिन्, ‘शुक्रबार यस्तो भयो ।’

छिमेकी ४३ वर्षीया सन्तके रावतका अनुसार, घर ढलेको देखेर जाँदा कोही बोलिरहेका थिएनन् । ‘मैले मान्छे मर्यो भन्दै धेरैबेरसम्म कराएँ, त्यसपछि मात्र अरु मान्छेहरु आए’, उनले भने, ‘त्यसपछि उद्धार सुरु गरेका थियौं ।’

भूकम्पमा परेर मारिएका सम्झना र विनयका बुबा ललित परियार (२६) शुक्रबार बगरमा छेउ रहेको घट्टमा गएका थिए । ‘घट्टमा गएको थिएँ, मैले बिहान मात्र यस्तो भएको थाहा पाएँ’, उनले अनलाइनखबरसँग भने ।

नजिकै-नजिकै एकै परिवारका ६/६ जना गरेर १२ जनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ । अझ सोमबार अपराह्न आएको ५.४ रेक्टर स्केलको पराकम्पले थप घरहरु पनि भत्किएका छन् । केही घाइते समेत भएका छन् ।अनलाइन खबरबाट साभार


Last Updated on: November 7th, 2023 at 10:35 am

११७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया