बुधबार २० मंसिर २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुलाई सर्वदलीय हेडसरको उपमा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राखेको सर्वदलीय बैठकबारे टिप्पणी गर्दै उनले सामाजिक सञ्जालमार्फत पाल र ब्लान्केट बोकेर जनतामा जान आग्रह पनि शीर्ष नेतालाई गरेका छन् । नेताहरु जनताकोमा गए व्यवस्था आफै जोगिने उनले बताए ।

“आदरणीय ‘सर्वदलीय हेड सर’हरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्,” उनले लेखेका छन्, “व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ ।”

उनले सुत्केरीहरुको जिउ सुन्निएको, अस्थायी शौचालय नभएको, पुरिएका चौपायाका कारण महामारी फैलने डर भएको उल्लेख गर्दै जुटाइदिएको पाल, चामल, दाल समयमै बाड्न नसक्ने नसक्नेले व्यवस्थाको, परिवर्तनको चिन्ता गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “तपाईँहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ, त्यो पनि पुनर्निर्माणसम्मको जिम्मा लिन तयार छ । फेरि पनि भन्छु, व्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् ।

परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाशमुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्नो आँखा नराम्ररी बिझाएको उनले लेखेका छन् ।


Last Updated on: November 7th, 2023 at 8:59 pm

२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया