
ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् ।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको मृत्यु भएको बिषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए । सो क्रममा आफूहरूमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले स्वास्थ्यकर्मी विरुद्ध हिंसा बन्द गर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा. बिमल पाण्डेले बताए ।
प्रदर्शनमा सहभागी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर, डाक्टर कुट्न पाइदैन, डाक्टर कुटाई खादैछ, समाज कता जाँदैछ ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले कुटपिटका दोषीलाई कारबाही नभएसम्म नियमित सेवा दिन नसक्ने जनाएका छन् ।