
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयरमा नकरात्मक सर्किट लागेको छ ।
दोलखामा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीको शेयरमा नकरात्मक सर्किट लागेको हो । हाल अपर तामाकोशीको शेयर २ सय रुपैंया भन्दा पनि तल झरेको छ । केही महिनादेखि प्रतिकित्ता दुई सय देखि २ सय ५० सम्मको हाराहारीमा सिमित रहेको शेयर हाल २ सय भन्दा पनि तल झरेर कारोबार भइरहेको हो ।
शेयर बजारमा अपर तामाकोशीको शेयर आज १९३ मा कारोबार भएको छ । पछिल्लो साता २ सय भन्दा तल झरेको शेयर आज बजारमा १ सय ९३ मा सिमित हुन पुगेको हो । ५ वर्ष अघि अपर तामाकोशीमा जनताले १०० अंकित दरका शेयर खरिद गरेका थिए । तर, पाँच वर्ष पछि समेत २ सय बजार मूल्य पाउन नसक्नुले जनताको आशा निरासातर्फ उन्मुख भएको छ । पछिल्लो ५२ साता भित्र बढीमा ५९० पुग्दा सबैभन्दा कम १९० मा झरेको पाइएको छ । यसैगरी १ सय २० दिनको एभरेजलाई हेर्दा २ सय ७५ रुपैंया २४ पैसा छ ।
यो वर्ष अपर तामाकोशीको मात्रै नभएर अन्य हाइड्रोपावर तथा कम्पनीहरुको शेयरमा पनि गिरावट कायम छ । दोलखामा निर्माण भएको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाले धमाधम विजुली उत्पादन गरी विक्रीवितरण गर्दै आएको छ । सोही कम्पनीले ५ वर्षपछि अर्काे हकप्रद शेयर पनि विक्री गरेको छ । गत महिना मात्रै अपर तामाकोशी हाइड्रोवापर लिमिटेडले १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको थियो ।
हकप्रद शेयरमा ३ करोड ८ लाख कित्ता शेयरको मात्रै आवेदन परेको छ । शेयरबजारमा बजार भाउ घटिरहँदा र लाभांश नपाइरहेको अवस्थामा जिल्लाकै धेरै नागरिकले हकप्रद शेयरलाई बहिस्कार गरेको प्रतिक्रिया दिएका छन् ।