
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भएको छ । बन्द कोठाको बेडमा खिचिएको उक्त भिडियोमा एक पुरुष र महिला देखिएका छन् । उनीहरू रोमान्टिक मुडमा छन् ।
टिकटकमा भाइरल भएको उक्त भिडिओमा देखिएका पुरुष एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत हुन् भन्दै पोस्ट गरिएका छन् । एमाले नेताको ‘रंग लीला’ भन्दै उक्त भिडियो सेयर गर्नेहरूको संख्या बढ्दै गएको छ ।
भिडिओमा महिला टिकटक बनाइरहेका छन् भने पुरुष चाहिँ ओछ्यानमा पल्टेका छन् । छोटो भिडियोमा देखिएका पुरुषको अनुहारमा बस्नेतको फोटो जोडिएको देखिन्छ । महिलाले सेल्फी स्टाइलमा रेकर्ड गरिरहेको भिडियोको सुरुमा उक्त पुरुष पनि देखिन्छन् । तर, भिडियो रेकर्ड भइरहेको थाहा पाएपछि सिरकले अनुहार छोपेको देखिन्छ ।
भिडियो मा देखिने पुरष भने महेश बस्नेत हैनन् । महेश बस्नेतको पुरानो फोटोलाई उक्त भिडियो मा जोडिएको प्रस्ट देखिन्छ । उक्त भिडियोमा बजेको गित र टिकटक बनेकी महिलाको लिपसिंक मिल्दैन । त्यसैले यो भिडियो फेक हो भनेर प्रस्ट हुन्छ ।
भिडियो भाइरल भएपछि बस्नेतले फेसबुकमार्फत केही व्यक्तिहरूको नाम तोकेर आफूलाई बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको र “एआई” प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो बनाइएको प्रतिक्रिया दिएका छन् ।
उनले लेखका छन्– ‘एमाले नेताहरू र विशेष गरी मलाईसमेत बदनाम गराउन एउटा गिरोह निरन्तर लागिरहेको छ । मनोज मानव भन्ने युटुवेले धेरै मान्छेको चरित्रहत्या गर्ने शृङखला चलाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) को प्रयोग गरेर एडिट भर्सनबाट फेक भिडियो जेनेरेट गरेर मेरो चरित्र हत्या गर्ने हर्कत गरेको छ ।’
उनले फेसबुकमार्फत पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकलाई भ्रममा नपर्न अनुरोध गर्दै यथार्थ सबै छिटो बाहिर आउनुका साथै अराजकतावादी र अपराधीहरुलाई कारबाहीकाे दायरामा ल्याइने समेत बताएका छन् ।
उनले आफ्नाे चरित्र हत्या गर्नेलाई चाँडै कानूनी दायरामा ल्याएर आम नागरिकको अगाडि उभ्याउने बताएका छन् ।