मंगलबार १८ आश्विन २०७९

काठमाडौँ । काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्ताले स्थानीयले पिटेका हुन् ।

बिहान बसमा ढुङ्गा हानेपछि कालीकोटको नरहरिनाथ नगरपालिकाका राउतलाई बसका चालक सहचालकले कुटपिट गरेका थिए ।बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुङ्गा हाने आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीय बासिन्दाले घेरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले राउतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ । त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

काठमाडौँ उपत्यकामा बन्दको प्रभाव नदेखिएपनि देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेको छ ।


Last Updated on: August 23rd, 2022 at 3:13 pm

तपाईको प्रतिक्रिया