शनिबार १६ मंसिर २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आमा बन्न लागेकी थिइन् । यसले परिवारमा खुसीको सीमा थिएन । चिकित्सकको सल्लाहअनुसार उनी गत असोज ८ गते अस्पताल जानुपर्ने थियो । सोहीदिन उनी भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस)मा परिवारसहित पुगिन् ।

‘डेलिभरी’को बेला केही अफ्ठ्यारो स्थिति नआओस् भनेर सुविधासम्पन्न मेडिकल कलेजमा भर्ना गरियो । भैरहवाकै ए–वान हेल्थ क्लिनिकमा उनलाई ९ महिनादेखि चेकजाँच गर्दै आएकी डा दीपाञ्जली शर्मा पनि मेडिकल कलेजमा कार्यरत थिइन् । जसले गर्दा परिवार पनि अफ्ठ्यारो नपर्ला भन्नेमा ढुक्क थिए । अस्पतालमा पुगेर भर्ना हुनेबित्तिकै ‘इमिडेट्ली’ सावित्रीलाई शुरूमा ‘नर्मल डेलीभरी’ हुन्छ भनेर औषधि चलाइयो । त्यसको केही समयपछि बच्चा आधा मात्र निस्किएपछि उनलाई शल्यक्रिया (अपरेसन) गर्नुपर्ने अवस्था आइलाग्यो ।

शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि परिवारले नियमित चेकजाँच गर्दै आएकी डा दीपाञ्जलीलाई तुरुन्तै फोन सम्पर्क गरे । तर, उनले आफू नभ्याउने भन्दै डा रुपेश यादव शल्यक्रियामा आउने जवाफ फर्काइन् । डा रुपेशले पनि अचानक शल्यक्रिया गर्ने निर्णय अस्पतालले प्रशासन गराएको सावित्राका आफन्तलाई जानकारी गराए ।

यसपछि सावित्रालाई अपरेसन थिएटरतर्फ लगियो । असोज ८ गते राति १० बजे उनको शल्यक्रिया शुरू गरियो । दुई घण्टापछि चिकित्सकले राति १२ बजे बच्चा (छोरा) आफन्तलाई दिए । तर, सावित्राको शल्यक्रिया अझै सकिएको रहेनछ । शल्यक्रिया सकिएको बिरामीलाई यति लामो समयसम्म पनि किन बाहिर ल्याइएन भनेर परिवारले शंका गरे । हुन पनि बिहान ४ बजेमात्र परिवारलाई भेट्न सावित्रासँग दिए । उनको डेलिभरी अपरेसन गर्न ६ घण्टा लगाइएको थियो ।

शल्यक्रियापछि डा दीपाञ्जली, डा मनोज लम्साल, डा सुवासकुमार मिश्र, डा तारा केसीसँगै महिला चिकित्सकसहितको टोलीले सावित्राको अनुगमन गरिरहे । परिवारमा नयाँ सन्तान आएकोले खनाल परिवारमा खुसी छाएको थियो । तर शल्यक्रिया गरेको ६ दिनपछि सावित्राको पेट एक्कासी फुल्न थाल्यो । समस्या झनै बढदै गयो । यसले परिवार र आफन्तका मनमा चिसो पस्यो । तर, ल्याब रिपोर्टहरूमा कुनै समस्या देखिएको थिएन । डाक्टरहरूले पुनः शल्यक्रिया गर्न आवश्यक ठानेनन् । पेटको एक्सरे गर्न लगाए । रिपोर्ट हेर्दै ग्याष्ट्रिकले हो भने । तर सावित्राको पेट फुलेको भने घट्नुको साटो झनै बढ्दै गयो ।

यसपछि भने डाक्टरले दोस्रो पटक शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताए । डा दीपाञ्जली, डा मनोज, डा तारा, डा यादव, डा सुवासकुमार र डा जिज्ञा सुवेदीले आफूहरूलाई कुनै जानकारी नदिइ अपरेसन थिएटरमा लगेको सावित्राका जेठाजु महेश खनालको बताए । उनका अनुसार त्यो बेला सावित्राको रक्तश्राव भइरहेको थियो । दोस्रो शल्यक्रियामा उनलाई भेन्टिलेटरको सपोर्ट आवश्यक रहेको भनियो ।

‘हामीलाई कुनै जानकारी नै नदिई बिरामीलाई आईसीयूमामा लगेर भेन्टिलेटरमा राखिएको रहेछ,’ जेठाजु महेशले भने । दोस्रो शल्यक्रियापछि ६ दिनसम्म सावित्रालाई भेन्टिलेटरमा राखियो । तर, कुनै सुधार हुनु त परै जाओस् होस पनि खुलेन । ‘डाक्टरले २४ घण्टामा खुल्छ भने तर खुलेन । थपेर ४८ घाण्टा पुर्याए तर त्यति बेलासम्म पनि आएन । अझै बढाएर ७२ घण्टामा आउँछ भने त्यो अवधिमा पनि होस आएन,’ जेठाजु महेश भन्छन्, ‘डबल समय कुर्दा पनि होस आएन, त्यतिबेलासम्म बिरामीको शरीरमा इन्फेक्सन भइसकेको रहछ ।’

बिरामीको अवस्था नाजुक भएपछि डा रेजिनले यहाँ उपचार सम्भव भएन भन्दै काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पताल, काठमाडौंमा रिफर गरे । सावित्रालाई भैरहवाबाट एयर एम्बुलेन्स (हेलिकप्टरमार्फत) काठमाडौं लगियो । ग्राण्डीमा डा आनन्द ठाकुर र डा सुभाष आचार्यसँगै अन्य चिकित्सकहरूको टोलीले उपचार गर्न थाले । तर, त्यो बेलासम्म सावित्राको अवस्था धेरै जटिल बनिसकेको र बचाउन मुस्किल भएको परिवारलाई पहिल्यै जानकारी गराए । दुर्भाग्यवश, काठमाडौं लगेको ११ औं दिनको दिन कार्तिक २ गते सावित्राको मृत्यु भयो । यसमा चिकित्सकीय लापरबाही भएकाे परिवारको आरोप छ ।

‘चिकित्सा नियमअनुसार मांसपेशीको अपरेसनमा न्युरोलोजिस्ट र हृदयरोग विशेषज्ञहरूको संलग्नता आवश्यक पर्दो रहेछ,’ सावित्राका श्रीमान् सुरज खनाल भन्छन्, ‘नसाको डाक्टर नराखी शल्यक्रिया गरियो । यो पूर्ण डाक्टरको लापरबाही हो । यसैकारण हामीले परिवारकी सदस्य गुमाउनु पर्यो ।’

बच्चा निकाल्ने क्रममा शल्यक्रिया गर्दा डाक्टरले लापरबाही गरेर पेटमा भएको रगतको नसा काटिदिको उनको भनाइ छ । ‘त्यो नसा काटिएपछि पेट फुलेको रहेछ । उनीहरूले शुरूमा ग्यास्ट्रिक भने,’ उनले भने, ‘हाम्रो पैसा पनि धेरै खर्च गराए, मान्छे पनि बचाएनन् । उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्छ ।’

यसरी सावित्राको परिवारले नयाँ सदस्य जन्मिएको खुसीयाली मनाउन पाएन । थप उपचारका लागि काठमाडौं लगेको एक महिनापछि खनाल परिवार सावित्राको शव लिएर घर आयो । काजकिरिया सक्यो । यसपछि मेडिकल कलेजको लापरबाहीविरुद्ध उनीहरू अहिले संघर्षमा छन् । पीडित परिवारले आइतवार मेडिकल कलेजका जनसम्पर्क अधिकृत तेज केसीलाई ज्ञापनपत्र बुझाउदै लापबाही गर्ने चिकित्सकलाई कारबाही गर्न माग राखेका छन् ।

‘मेरो जीवनलाई प्रभावित पार्ने यो एक चिकित्सा कसुर प्रकरण हो । हामी न्याय र जनचेतनाको खोजी गरिरहेका छौं । डेलीभरी हुन आएको मान्छेको मृत्यु गराउनेसम्मको गल्ती गर्ने घटना सामान्य होइन, त्यसै छाडिँदैन,’ मृतकका श्रीमान् सुरजले भने ।

परिवारको पीडालाई सम्बाेधन गर्दै अस्पतालका जनसम्पर्क अधिकृत केसीले सावित्राको प्रकरणप्रति आफू दुःखी रहेको बताउँदै घटनाको वास्तविकता बुझ्न डक्टर र पीडित पक्षबीच छलफल गराउने आश्वासन दिएका छन् ।

आमा सावित्रा यो संसारमा नरहेपछि नवजात शिशु (न्वारानको नाम श्रवण) भने सकुशल छन् । तर उनी जन्मिँदै आमाको न्यानो मायाबाट बञ्चित भएका छन् । डाक्टरको चरम लापरबाहीले बञ्चित गराएको परिवारको आरोप छ ।लोकान्तर बाट


Last Updated on: November 8th, 2023 at 11:17 am

२४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया