
कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायली सरकारले पुष्टि गरेपछि परिवारले विपिनको सकुशल उद्धारको गुहार गरिरहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट गत भदौ अन्तिम साता ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन हमास समूहले गाजामा आक्रमण गरेदेखी बेपत्ता छन् । डेढ महिना बितिसक्दा समेत छोरा समर्पकमा नआएपछि जोशी परिवार विक्षिप्त बनेको छ । विपिनकी बहिनी पुष्पा तिहारमा दाइ घर फर्किने आशामा छन् । उनले तिहारअघि नै दाइलाई सकुशल स्वदेश फर्काउन सरकारसँग गुहार गरेकी छन् । “दुई हात जोडेर मेरो बिन्ती छ मेरो दादालाई घर ल्याइदिनुस् ।” बहिनी पुष्पा जोशीले भक्कानिँदै भनिन–“सरकार मलाई धेरै आशा छ मेरो भाइटिका नबिग्रियोस् ।” उनले सरकारप्रति अझै आशा रहेकाले आफ्नो दादालाई सकुशल घर फर्काइदिन सरकारसँग गुहार मागिन । “एक महिना भयो खाना नखाएको आमा बुबाको हालत पनि त्यस्तै छ ।” पुष्पाले भनिन–“मेरो दादा निर्दोष छ उसलाई सकुशल नेपाल ल्याईदिनुस ।”
इजरायली सरकारले हालै विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा विपिनलाई सकुशल नेपाल फर्किने आशा पलाएको छ । विपिनका बुबा महानन्द जोशीले छोरोको उद्धारका लागि अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूलाई आग्रह गर्नुभएको छ । “हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ ।” महानन्दले भने–“तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनुस् ।” आमा पदमाले आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि विपिनलाई घर ल्याइदिन माग गरेकी छन् । उनले भनिन –“जतिसक्दो चाँडो मेरो छोराको उद्धार गरिदिनुस् ।”
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत भदौमा इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका उनी एक महिनादेखि सम्पर्कविहीन छन् ।