
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए । “वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ ।
त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन,” ओलीले भने, “केका लागि ? नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ कि ? यस्तो कुराहरू हेर्नुपर्छ ।”
ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको बताए । अहिले छलफल गर्न नदिई अघि बढेको बताए ।
उनले नेपाली नागरिक र उनका सन्तानले नागरिकताबाट बञ्चित हुन नहुने बताए । नागरिकताको समस्या सही ढंगले समस्या समाधान गर्ने एमालेबाहेक अरू कोही नभएको दाबी गरे । अरूले नागरिकताका नाममा मधेसमा राजनीति मात्रै गर्ने गरेको ओलीको आरोप छ ।
त्यस्तै नेकपा एमालेले पछिल्लो समय पार्टी प्रवेशको लहर चलेको निष्कर्ष निकालेको छ। केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पछिल्लो समय पार्टी प्रवेशको लहर चलेकाले यसलाई अझै अभियानका रुपमा अघि बढाउने पनि निचोड निकालेको छ।
बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालयको ११ औँ बैठकले गरेका निर्णय अनुमोदन गरिएको पनि बताएका छन्। यो बैठकले निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलबारे आगामी भदौ ११ गते बस्ने केन्द्रीय कमिटी बैठकमा जानकारी गराउने निर्णय पनि गरेको छ।
त्यसैगरी एमालेले भदौ १२ गते दिनको ११ बजे निर्वाचन परिचालन कमिटी बैठक पनि राख्ने भएको छ। एमालेलेको बैठकले वार्षिक बजेट पनि पारित गरेको छ। ‘पछिल्लो समय विभिन्न दल छाडी प्रवेश गर्नेको लहर चलेको छ।
पार्टी प्रवेश गरेकाको विवरण दुरुस्त गर्ने निर्णय बैठकले गरेको छ’, गुरुङले भने, ‘बैठले नवप्रवेशीहरुलाई जिम्मेवारी दिन निर्देशन दिएको छ। मिल्नेजतिलाई जिल्ला कमिटीले जिम्मा दिने काम गर्ने यदि समस्या भएमा प्रदेश र केन्द्रलाई जानकारी दिन भनिएको छ।’