
वीरगँज । देशमा संघीयता आएपछि अधिकारको दुरुपयोग कति हदसम्म भएको छ भने पर्सा जिल्लाको एक घटनाले उदाँगो पारेको छ ।
पर्सा जिल्लाको बहादुरमाई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेलले अधिकार दुरुपयोग गरी नक्कली कागजात बनाएर सरकारी पेन्सन खुवाएको तथ्य बाहिर आएको छ ।
सोही नगरपालिकाको वडा नम्बर २ बस्ने विकास प्रसाद यादवले आफ्नै श्रीमतिलाई कान्छी आमा बनाएर विगत पाँच बर्षदेखि श्रीमानको सरकारी जागिर वापत पाउने पेन्सन खाँदै आएको रहस्य बाहिरिएको हो । आमाको देहान्तपछि यादवले आफ्नी श्रीमति सँगिता देवीलाई आमा बनाएर पेन्सन खाँदै आएको खुलेको हो ।
बुवा र आमाको बर्षौ पहिले मृत्यू भएको अवस्थामा श्रीमतिलाई नै कान्छी आमा बनाएर पेन्सन खाएको तथ्य खुलेको हो । सो वडाका वडाध्यक्ष जीतेन्द्र पटेलले स्थानीय सरकार गठन भएपछि २०७४ सालको चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।
निर्वाचित भएपछि भोँट दिन सघाएको भन्दै विकास प्रसाद यादवलाई श्रीमतिलाई नै आमा बनाएर पेन्सन खुवाउने उपहार दिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, विकासको आमाको बर्षौ पहिले मृत्यू भईसकेको अवस्थामा वडाध्यक्ष पटेलको मिलोमत्तोमा नक्कली नागरिकता बनाएर बुवाको शिक्षक जागिरपछि पाउने पेन्सन आफ्नी श्रीमतिलाई आमा बनाएर खाँदै आएको हो ।
प्राप्त गरेको कागजातहरुमा विकास प्रसाद यादवकी श्रीमति सँगीता देवी नै रहेको अवस्थामा उनलाई आमा बनाएर पेन्सन खाँदै आएको हो ।
आकाशका बुवा विनोद प्रसाद यादव पेशाले शिक्षक थिए । जागिरबाट अनिवार्य अवकाश पाएपछि सरकारले दिने गरेको जीवन निर्वाह भत्ता अर्थात पेन्सन उनको मरोउपरान्त श्रीमतिले मात्र पाउनुपर्ने प्रावधान रहेको अवस्थामा आकाशले आफ्नी श्रीमतिलाई नै आमा बनाएको हो । उनको आमाको करिब २५ बर्ष पहिले नै मृत्यू भईसकेको बताईन्छ ।
बुवाको उपरान्त उनको आमाले पाउनुपर्ने पेन्सनको लागि आमा हुनुपर्ने अनिवार्य हुन्छ । तर आमा र बुवा दुवैजना स्वर्गवास भएको अवस्थामा श्रीमतिलाई नै आमा बनाएर पेन्सन खाएको आरोप छ ।
यस सन्दर्भमा वडाध्यक्ष पटेलसँग सम्पर्क गर्न खोज्दा पालिकाको वेभसाईट डाउन देखिएको हो । वडाध्यक्ष जीतेन्द्र पटेल दोस्रो पटक निर्वाचित भएका छन् । उनी अहिले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।