सोमबार १८ मंसिर २०८०

मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन्।उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी रायले बताए। विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्यूरोले खुलाएको छैन। मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए।

केही दिनअघि पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसेको एक रेस्टुरेन्टको कोठामा मनोज प्रवेश गरेका थिए। त्यतिबेला बरालले मनोजको मुखमा थुक्दै थप्पडसमेत हानेकी थिइन्।

मनोजले महेश बस्नेतको एक भिडियो समेत सार्बजनिक गरेका थिए ।पछिल्लो समय नेकपा एमालेका युवा विभाग इन्चार्ज महेश बस्नेतविरुद्ध सामाजिक सञ्जालमा उनका पोस्ट आएका थिए।

टिकटक र फेसबुकमा बस्नेतको चरित्र हत्या गरेका कारण उनलाई पक्राउ गरेको अनुमान गरिए पनि प्रहरीले कारण खुलाएको छैन। उनले चरित्र हत्या गरेकी एक जना महिलासँग संवादका क्रममा गालीबेइज्जती समेत गरेको अडिओ सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।

आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्। मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।


Last Updated on: November 9th, 2023 at 11:40 am

५१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया