
मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन्। उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेको निकटस्थहरुले बताएका छन्।
दिपाशाले विष सेवन गरेर आत्महत्या गरेकी हुन्। उडुस मार्ने औषधि खाएपछि सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल लगिएकोमा आज दिउँसो डाक्टरले मृत घोषित गरेका हुन्।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ। केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन्। ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको बताइएको छ। उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग पनि मागिरहेकी थिइन्।
उनी म्युजिक भिडियो खेलिरहेकी थिइन्। काठमाडौं मलमा ब्युटीपार्लर चलाइरहेकी दिपाशासँग क्यानाडाको पाँच वर्षे भिसासमेत थियो।
दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन्। हिजोमात्रै टिकटकमा उनले एउटा एकतर्फी प्रेमसम्बन्धी संवाद रहेको अडियोमा टिकटक बनाएर लेखेकी थिइन्, ‘बस पुग्यो अब सबै।’
चार दिनअघि उनले फेसबुकमा यस्तो लेखेकी थिइन्
जिन्दगी त हाँसेर जिउने हो
सायद कहिलेकाहीँ कल्पनाभन्दा बाहिरको
आगमनले जिन्दगी तहसनहस बनाउने रहेछ
कहिलेकाहीँ समयले मान्छेको अनेक रुप देखाउँछ
बस अब कसैप्रति विश्वास गर्ने छैन र
बारबार टुट्ने छैन
विश्वास, माया, अनि सम्बन्ध सबै फिल्ममै ठीक छ
यथार्थमा जिन्दगीमा सहन गाह्रो छ सबै
केही दिनअघि उनले लेखेको अर्को स्टाटस यस्तो थियो
जीवनमा आफूभन्दा बढी महत्व कसैलाई नदिनु हो
यो संसारमा सबैभन्दा विश्वासिलो त
मृत्यु मात्र रहेछ जसले आजसम्म कसैलाई
धोका दिएको छैन