
नोभेम्बर ९ देखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । योग्य देशहरुको सुची सहितको सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ । सुचीमा दुबै कार्यक्रमका लागि बोलिभिया थपिएको छ ।
अब अस्थायी कृषि कामदार र अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८९ देश योग्य भएका छन् । फेडरल रजिष्टरमा सुचना प्रकाशित भएको मितिमा पेन्डिङ अवस्थामा रहेका लगायतका आवेदनहरु युएससीआईएसले तजविजका आधारमा समेत स्वीकृत गर्न सक्नेछ । सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।
अमेरिकाको अस्थायी कृषि कामदार र अस्थायी गैर कृषि कामदारका लागि नेपाललाई योग्य देशमा सुचिकृत गरिएको छैन । तर यस्तो आवेदनको लाभार्थी बन्नु अमेरिकाको हितमा रहेको छ भन्ने निर्धारण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गरेको खण्डमा भने सुचीमा नभएका देशका व्यक्तिको अस्थायी कृषि कामदार भिसा स्वीकृत हुन सक्नेछ । अर्थात् आवेदन अमेरिकाको हितमा रहेको प्रमाणित गर्न सकेमा नेपालीहरु सुचीमा नभएपनि भिसा पाउन सक्नेछन् ।
सुचीमा नभएका देशका व्यक्तिका लागि आवेदन दिनुपरेमा भने छुट्टै आवेदन पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । त्यस्तै सुचीमा नभएको देशलाई सुचीमा समावेशका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड समक्ष सिफारिस गर्न पनि सकिन्छ । त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पोलिसी अफिस वा अमेरिकी विदेश मन्त्रालय अन्तरगतका दूतावास र कन्सुलेटमा लिखित अनुरोध गर्न सकिन्छ ।
सुचीमा नभएका देशका सरकारका तर्फबाट आफ्नो देशलाई सुचीमा समावेश गर्नका लागि अनुरोध गर्न सकिन्छ । त्यस्तै सुचीमा नभएका देशका कामदार राख्नुपर्ने अवस्थाका रोजगारदाताका तर्फबाट पनि यस्तो अनुरोध गर्न सकिन्छ । त्यस्तै यसबारे सम्बन्धित र रुची राख्ने अन्य समुहले पनि यस्तो अनुरोध गर्न सक्छन् । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उक्त देशलाई सुचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्छ । यस्तो निर्णय गर्दा उक्त देशका नागरिक अमेरिकाबाट देशनिकाला हुने क्रममा उक्त देशको दूतावासले ट्राभल डकुमेन्ट बनाउन समन्वय गरे नगरेको लगायत उक्त देशका कति व्यक्तिलाई दिइएको देशनिकालाको आदेश कार्यान्वयन भएको छ वा कतिलाई दिइएको आदेश कार्यान्वयन भएको छैन लगायतका मापदण्डहरु हेरिनेछ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भनेको छ – ‘योग्य देशको सुचीमा रहेको देशको नागरिक नरहेतापनि युएससीआईएसले एचटु ए वा एच टु बी आवेदकका पक्षमा विचार गर्न सक्छ । जुन परिस्थितिको समग्रतामा निर्भर गर्दछ। यद्यपि, योग्यताको कुनै पनि अन्तिम निर्धारण प्रत्येक व्यक्तिगत परिस्थितिमा सबै सान्दर्भिक कारकहरू र प्रमाणहरू अनुसार गरिनेछ।’
अमेरिकामा आर्थिक बर्ष २०२४ का लागि ६६ हजारका अतिरिक्त लगभग ६५ गैर कृषि अस्थायी कामदार भिसा उपलब्ध गराइने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले थप अस्थायी कामदार भिसाहरु उपलब्ध गराइने घोषणा गरेको हो । संसदले हरेकबर्षका लागि तोकेको कोटा ६६ हजार भएतापनि २०२४ का लागि थप भिसाहरु पनि उपलब्ध हुनेछन् ।