
मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु छायाँनाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही र गोपाल बोहोरा रहेका छन् ।
घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या आरोपमा शाही र बोहोरालाई पक्राउ गरेको हो । घटनामा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको शंकमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतले गोरखबहादुर मृतकका नातेदार पनि भएको दाबी गरेको छ । कात्तिक १० गते बिहान साढे ९ बजे छायाँनाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।
कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका थिए ।
घटना भएको पर्सिपल्ट अर्थात् कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए ।
सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो।
सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि शुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई ओटा टोली अनुसन्धानका लागि खटिएका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो ।
प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पनि डीएसपी धर्मराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो ।
सोही टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि प्रहरीले यस विषयमा केही बताएको छैन ।